राजधानीलाई पानी संकटमुक्त पारी पर्याप्त पानी उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन र पानी पुर्नभरण अभियान सञ्चालन गरेको छ ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा उपलब्ध ज्ञान,सीप,प्रविधि र अनुभवलाई उपयोगमा ल्याएर नेपालीहरुलाई सहज रुपमा स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले स्थापित स्मार्ट वास सोलुसन्सले स्मार्ट पानी र काठमाडौं  महानगरपालिकाको सहकार्यमा आयोजना गरेको बर्षातको पानी संकलनका मुद्दा, चुनौती र आगामी मार्ग विषयक वेबिनारमा काठमाडौं नगर आयोगका सहविज्ञ जयश्री राजभण्डारीले सो जानकारी दिए ।

उहाँले राजधानीमा ल्याइएको मेलम्चीको पानीले पनि यहाँको माग नधान्ने बताउदै भन्नुभयो,“अहिले नै काठमाडौंमा खानेपानीको माग दैनिक ४५ करोड लिटर जति छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ ।  यसको आपूर्तिको लागि वैकल्पिक स्रोत खोज्नै पर्दछ ।”

काठमाडौं उपत्यकामा साना ठूला खोला र नदीहरु प्रशस्त रहेको र परम्परागत पानीको स्रोत मानिएका ढुंगेधारा, कुवा, इनारका साथै भूमिगत पानीको उपयोगबाट त्यस्तो अभाव पूर्ति गर्नुपर्ने अवस्था रहेकोले बर्षातको पानीको उपयोग र पुनर्भरण गर्ने अभियान थालिएको बताइएकाे छ । पानीको वर्तमान तथा भावि संकटलाई दृष्टिगत गरेर महानगरले २०७६।७७ देखि काठमाडौं पुनर्भरण अभियान सुरु गरेको पनि जानकारी दिइएकाे छ ।

यस अभियान अन्तरगत गोंगबू रानीबारी पुनर्भरण आयोजना सम्पन्न भैसकेको छ भने स्वयम्भू भुईखेलको पोखरी पुनस्थापना गरिएको छ । त्यस्तै राजधानीको मध्यभागमा रहेका कमलपोखरी मर्मत र पुनःस्थापनाको काम हुँदैछ भने रानी पोखरी मर्मत पूरा भएको छ । नारायणहिटीको दक्षिणमा रहेको हिटी पोखरी र पूर्वतर्फ रहेको नक्सालको नागपोखरी पनि संरक्षण थालिएको छ

यो पुनर्भरण आयोजना अन्तरगत कमल पोखरीलाई बर्षातको भलबाढीको पानीलाई छानेर पोखरीमा जम्मा गर्ने विधि अपनाइएको छ । महानगरपालिकाले पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी, बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यू चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमूना पार्क र टुँडालदेवी पार्कको विकास र संरक्षणको कार्य थालेको पनि उनले बताए ।

महानगरपालिकाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी संकलन प्रणाली उपयोगमा ल्याइसकेको छ । महानगरले पानी पुनर्भरणका कार्यक्रम सञ्चालन गर्न पुराना ढुंगेधाराहरुको स्थान अवलोकन, मर्मत संभारको कार्य पनि थालेको छ । महानगरभित्र रहेका १ सय ५६ यस्ता धाराहरुमध्ये ५७ मासिएका पाइए भने ९९ वटा भेटिएका छन् । भेटिएका मध्ये ४ वटामा पाइपको पानी पठाएर र १४ वटामा पानी ट्यांकी राखेर सञ्चालनमा ल्याइएको छ ।

महानगरले खानेपानीको स्रोत संरक्षणको लागि पुनर्भरण इनारको स्थापना, पानी बगैचा(वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको उपयोग गर्दै आएको छ । महानगरले पुनर्भरण कार्यक्रम सञ्चालनका लागि आफ्नो क्षेत्रभित्र भएका खानेपानी ट्वीवेल,ह्याण्ड पम्प, निजी तथा सार्वजनिक इनार र ढुंगेधारा तथा सार्वजनिक स्थानहरुको नक्सांकन पनि गरिरहेको छ ।

चेन्नाईको अनुभव

कार्यक्रममा भारतको तामिलनाडुको चेन्नईको बर्षा केन्द्र(रेन सेन्टर)का डा. शेखर राघवनले बर्षातको पानीलाई घरको छतमार्फत संकलन गर्ने र सतहमा परेपछि बग्ने क्षेत्रमा समुचित प्रविधिको माध्यमबाट संकलन गरी तात्कालिक र दीर्घकालिक आवश्यकता आपूर्ति गर्न सकिने बताए । उनले बर्षाको पानीलाई ताजा पानीको स्रोत बताउदै बर्षमा  दुईदेखि  तीन महिना पर्ने पानीको संकलन र भण्डारणबाट बाँकी ९ देखि १० महिनाको आवश्यकता पूरा गर्न सकिने बताए ।

पानीको पहिलो दर्कोले धुलो मैलो पखाल्ने भएकोले त्यस्तो पानीलाई ड्रेनपाइपको अर्कोतिर संकलन हुनेगरी पछि परेको पानी त्यसमाथिबाट समानान्तर पाइपबाट ट्यांकीमा जान मिल्ने गरी संकलन गर्न सकिने बताए । समुचित तरिकाले पानी संकलन गर्दा दैनिक उपयोगमा आउने एउटै इनारमा बर्षाको पानी सीधै खसालेर उपयोग गर्न पनि सकिने उनले बताए ।

सार्वजनिक ठाँउहरुमा बर्षातमा परेको पानी जम्मा गरेर पुनर्भरण गर्ने इनार खनेर शहरहरुलाई भूमिगत पानी तानेर हुने सुख्खापनबाट जोगाउन सकिने बताए । उनले यसका लागि इनार,पोखरी,वाटर गार्डेन र पाइप रिचार्ज प्रणालीको स्थापना उपयुक्त हुने बताए ।

उनले चेन्नाईमा भवन निर्माणका लागि बर्षातको पानी संकलनको प्रावधान अनिवार्य गरिएको भएपनि प्रोत्साहनको रुपमा कुनै अनुदान नदिएको बताए । अनुदानले भ्रष्टाचार निम्त्याउने उनको कथन थियो ।

विद्यालय र अस्पतालमा अपरिहार्य

कार्यक्रममा स्मार्ट पानीका अनिशा कर्णले नेपालमा बर्षातको समयमा पर्याप्त पानी पर्ने भएकोले सो पानी संकलन गरेर हिउँदको सुख्खा याममा उपयोग गर्न सकिने प्रशस्त संभावना रहेको बताइन ।

नेपालका २९ जिल्लाहरुमा आफ्नो संस्थाले आकाशे पानीको संकलन, प्रशोधन र उपयोगिताको कार्यक्रम सञ्चालन गरेको पनि बताइन । खासगरी सार्वजनिक विद्यालय र अस्पतालहरुमा वर्षाको पानी संकलन र उपयोग अपरिहार्य रहेकोले सरकारी स्तरमा ती संस्थामा यसलाई प्रोत्साहित गर्नुपर्ने उनले बताइन ।

कार्यक्रममा त्रिचन्द्र क्याम्पस युथ रेडक्रस सर्कलकी सपना रेग्मीले त्रिचन्द्र क्याम्पसको बर्षातको पानी संकलनबाट रानीपोखरीमा भएको पानी पुनर्भरण कार्यक्रमको बारेमा प्रकाश पारे । उनले यो अनुभव अन्यत्र पनि उपयोग गर्न सकिने दावी गरे । कार्यक्रममा पूर्वसचिव ई.किशोर थापाले प्रस्तुत भएका कार्यपत्रमाथि टिप्पणी गर्दै प्रकृतिले सबैलाई पानी उपलब्ध गराएको तर त्यसको व्यवस्थापन गर्न नजान्दा बर्षामा बाढी पहिरो र हिउँदमा खानेपानीको समेत अभाव हुने गरेको बताए ।

पोखरी, तलाउ, चेक ड्याम, गहिरो इनार र छिद्रयुक्त(पोरस) पाइपको माध्यमबाट पानीको पुनर्भरण गरेर सतह र जमिनमुनिको पानीको पुनर्भरण गर्न सकिने बताए । पूर्वसचिव थापाले पानीको समुचित व्यवस्थापनको लागि बृक्षारोपण र सिंचाई पनि ध्यान दिनुपर्ने बताए । उनले बर्षातको पानी संकलन र उपयोगितालाई ढल निकास र प्रशोधनसम्म जोड्न पनि आग्रह गरे ।

कार्यक्रममा स्वागत गर्दै पूर्वमन्त्री गणेश साहले प्रकृतिले सित्तैमा दिएको स्वच्छ पानीको उपयोग गर्न नजानेर नेपालका धेरै स्थानमा पानीको संकट आएको बताए । उनले सित्तैमा पाइने यो अमूल्य स्रोतको उपयोग गरेर लाभ लिन सबैलाई आग्रह गरे । उनले आकाशबाट आएको पानी एकथोपा पनि खेर जान दिन नहुने बताए ।

बर्षातको पानी व्यवस्थापनले नेपाल र भारत दुवैलाई बाढी नियन्त्रणको फाइदा पुग्ने पनि बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माको सहजीकरणमा भएको वेबिनारको सञ्चालन स्मार्ट वासकी निर्देशक गिरिजा दाहालले गरेकि थिइन ।

Leave a Reply