कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अझै पनि पूर्ण रुपमा हटेको छैन । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा सावधानी अपनाउनुपर्छ । निषेधाज्ञाले घरभित्रै गुम्सिन बाध्य मानिसहरु निषेधाज्ञा केही खुकुलो भए पनि मन फुकाएर हिँड्न सकिरहेका छैनन् ।

लामो समयदेखि घरभित्रै बसेर आजित बनेका मानिसहरु यतिबेला मन शान्त पार्न र रमाइलो गर्नका लागि पर्यटकीय स्थलहरुको खोजीमा छन् । तनावमुक्त हुन उनीहरुलाई रि–फ्रेस हुने ठाउँहरु चाहिएको छ । रमाइलो गर्न र मनोरञ्जन लिने ती ठाउँहरु झरना, पदमार्ग, वनजङ्गल, डाँडापाखा, हरियाली ठाउँलगायत पर्यटकीय क्षेत्र हुन सक्छन् ।

पछिल्लो समय पर्यटकहरुको गन्तव्य बन्दै जान थालेको छ, म्याग्दीको कोपे्र झरना । नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । जिल्लाको बेनी नगरपालिका २, ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । दोस्रो चरणको कोरोनाको संक्रमणदर घटेसँगै अहिले म्याग्दीमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको हो ।

भकिम्लीको दुधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लोपटक दैनिकजसो पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयबासिन्दाले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा विदाको दिनमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको झरनामा दैनिक झण्डै १ सयको हाराहारीमा पर्यटकहरु घुम्न आउने गरेको स्थानीय बताउँछन् ।

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन् ।

स्थानीयले जनाएअनुसार कोप्रे छहरामा पहिलेदेखि नै मानिसहरु जाने गर्दथे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्थे । विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरुको संख्या बढेको छ । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको आन्तरिक पर्यटक प्रकृति ढुङ्गानाले अनुभव सुनाउनुभयो ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । कोप्र झरनामा कतिपय पर्यटकहरु टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् ।

अहिले कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली लगायतका क्षेत्रबाट प्रायः पर्यटकहरु भ्रमणमा निस्कन्छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटीहरु धेरै जाने गर्छन् ।

कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रुपमा विकास गर्नका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

Leave a Reply