पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थालेको छ । थुनिएको खोलामा थोरै पहिरो हटाएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा पर्ने खास्टा पहाडबाट पहिरो खसेर गुर्जाखोला थुनिएको थियो ।

गुर्जाखोला म्याग्दी खोलामा मिसिने भएकाले पहिरो खसेर खोला थुनिएपछि हिजो माइकिङ्ग गरी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । खोला बग्न थालेपछि जोखिम कम भएको उहाँको भनाइ छ ।

यसैबीच ढुङ्गा, माटो र लेदोसहित आएकाे पहिरोले बन्द भएको म्याग्दी र मुस्ताङ जोड्ने सडक पुनः सञ्चालनमा आएको छ । पहिरोले अवरुद्ध बनेको बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बाग्लुङ सडक खण्ड पहिरो पन्छाएपछि खुलेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

 

 

Leave a Reply