सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गरेको छ । मंगलबार मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा गुरुङ सहित लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिएका गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गरे । विसं २०१८ मा चितवन झरेका गुरुङले विसं २०२४ मा जुद्धोदय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गरे। उनले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरे।

२०३४ सालमा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त उनी त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा परे।

विसं २०३६ को जनमतसङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रियरूपमा लागेका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गरे । विसं २०४२ मा चितवन फर्किएका उनी नेपाली कांग्रेस चितवनको सहसचिवमा नियुक्त भए ।

विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गरे । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उनी सुकुम्बासी आयोगको केन्द्रीय सदस्य बने। त्यतिबेला उनी नवलपरासीको इन्चार्ज थिए ।

नेपाली कांग्रेको विभाजनसँगै उनी विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) चितवनको सभापति बने। पार्टी एकता भएपछि सहसभापति बनेका गुरुङ त्यसयता कांग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील थिए ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमान्दार नेता भएको बताउँछन्। कांग्रेसलाई सशक्त बनाउन उनी आफ्नो जीवनभर लागिपरेको श्रेष्ठको भनाइ छ । अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीनरूपमा कांग्रेसमा प्रतिबद्ध गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताए ।

फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन् ।

Leave a Reply