स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन हिडेका स्थानीय बासिन्दा चढेको डुंगा कर्णाली नदीमा पल्टिदा एक जनाको निधन भएको छ भने बाँकी दुई जना बेपत्ता छन्। सोही दुर्घटनामा परेर दुई जना बिरामी परेका छन्।

सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेको स्थानीय बासिन्दाहरु चढेको डुंगा आइतबार दिउँसो १२ बजे कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै कर्णाली नदीमा पल्टिएर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।

सो डुंगा दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका मध्ये एक जनाको मृत्यु भएकाे छ। कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएकाे स्थानीय शिक्षक पदमबहादुर भुलले बताए। शिक्षक पदमबहादुर भुलका अनुसार, धनसराको साथमा रहेका १ महिनाका छोरा कर्ण सलामी घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ।

नदीमा बेपत्ता भएका अन्य ३ जनाको अवस्था अज्ञात रहेको छ। २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षीया पार्वती थापा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
डुंगामा सवार अन्य ५ जना भने पौडिएर बाँचेको प्रहरीले जानकारी दिएको छ। अहिले बेपत्ता भएकाहरुको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।

१० जना सवार रहेको डुंगा पल्टिँदा दुई जना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको एसपी श्रेष्ठले बताए ।

Leave a Reply