म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा मह सिकारबाट भएको आम्दानीलाई स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकको तलब जुटाउन परिचालन गर्ने गरिएको छ । वडाभित्रका गाउँबस्तीका स्थानीयवासीले आलोपालो गरी मह काढ्दै आएकामा वडा कार्यालयको संयोजनमा टोली विभाजन गरी मह काढ्ने र मह बिक्री गरी आएको आम्दानीबाट बचत हुन आएको रकम विद्यालय सञ्चालनमा सहयोग गर्न थालिएको हो ।

सङ्कलन भएको महको बिक्रीबाट मह काढ्न परिचालन भएकाहरुलाई पारिश्रमिक छुट्याएर बचत हुन आउने रकम विद्यालमा निजी स्रोतबाट राखिएका शिक्षकहरूको तलब जुटाउन परिचालन गर्ने गरिएको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । मह सिकारमा भिरमा चढेर मह काढ्ने भिरौटेलाई प्रतिदिनको रु तीन हजार ५००, भिरको टुप्पोमा बसेर मह सङ्कलनमा सघाउनेलाई रु दुई हजार र अन्य सहयोगीलाई रु एक हजार १०० का दरले पारिश्रमिक उपलब्ध गराउने गरिएको छ । एकीकृतरूपमा सङ्कलन हुने महलाई बजार दररेटअनुसार बिक्री गर्ने गरिएको छ । प्रशोधन गरी बिक्रीका लागि बजारमा ल्याइएको भिर महलाई प्रतिलिटर रु दुई हजारसम्म मूल्य पर्छ ।

वडाभित्र रहेका बस्तीलाई समेटर समूह विभाजन गरी मह भएका भिरहरु बाँड्ने र मह काढ्ने गरिएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । ‘‘आफैँमा जोखिमपूर्ण काम हो मह सिकार गर्ने, यो पेशाको निरन्तरता मात्रै गरिएको छैन, स्थानीयवासीको आयआर्जन र शून्य दरबन्दी भएको मावि तहका शिक्षकको तलब जुटाउनसमेत मह सिकार सहयोगी बनेको छ”, वडाध्यक्ष छन्त्यालको भनाइ छ । दुर्गम बस्तीका गरिब विपन्न वर्गका बालबालिका अध्ययनरत यस विद्यालयमा प्रस्तावित मावि तह शून्य दरबन्दीमा सञ्चालनमा छ ।

समुदायस्तरबाट चन्दा सङ्कलनलगायत माध्यमबाट वार्षिक लाखौँ रुपैयाँ जुटाउनुपर्ने अवस्थामा मह सिकारबाट हुने गरेको सहयोगले विद्यालयलाई राहत मिल्ने गरेको विद्यालयका प्रअ खिम छन्त्यालको भनाइ छ । मह राम्रो उत्पादन भएको वर्ष रु तीन लाखभन्दा बढी विद्यालयलाई सहयोग जुट्ने गरेको छ । “सधैँ एकैनासको मह सङ्कलन हुँदैन, कुनै याममा मह काढ्नेहरुको पारिश्रमिक जुटाउन पनि धौधौ पर्छ, कुनै सिजनमा राम्रो भयो भने पारिश्रमिक कटाएर विद्यालयलाई सहयोग प्राप्त हुन्छ”, प्रअ छन्त्यालको भनाइ छ । यस विद्यालयमा निजी स्रोतका शिक्षकको तलबभत्तामा समुदायले वार्षिक करिब रु नौ लाख बढी जुटाउनुपर्ने बाध्यता रहेको छ । विद्यालयमा १२० बालबालिका अध्ययनरत छन् ।

Leave a Reply