नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन दिने उदेश्यले यो वर्ष पनि ‘बाह्रखरी कथा प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै आयोजक १२ खरी बुक्सले प्रतियोगिता सुरु भएको जानकारी दिएको हो ।
विश्वभर छरिएर रहेका नयाँ तथा पुराना नेपाली कथा लेखकले भाग लिन सक्ने प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई पुरस्कारको ब्यवस्था समेत गरिएको छ ।

जसमा प्रथम, दोस्रो र तेस्रोले क्रमशः एक लाख, ६० हजार तथा ४० हजार पुरस्कार रहेका छन् । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको अहिलेसम्मकै ठूलो राशिको हो । प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७८ भदौ ३१ गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगाना पठाउनु पर्नेछ । कथा प्रतियोगिताको नतिजा २०७८ मंसिर ३ गते शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिनेछ ।

कथा प्रतियोगिताको प्रमुख निर्णायकमा नारायण ढकाल, विवश पोखरेल र कुमारी लामा रहेका छन् । निर्णायक प्रतियोगितामा सहभागी कथा मध्येबाट उत्कृष्ट २५ र तिनै कथा मध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ ।
गतवर्ष यो प्रतियोगितामा ७ सयभन्दा बढी कथाकारले भाग लिएका थिए । यो वर्ष अझै धेरैको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको संगालो पुस्तकको रुपमा समेत आउने छ । यो वर्ष अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन र बिक्री वितरण समेत आयोजकको भनाई रहेको छ । उत्कृष्ट २५ मध्येमा पर्ने पुरस्कृत बाहिरको कथाकारलाई समेत आयोजकले जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गर्ने गर्दछ ।
प्रतियोगिताको पहिलो संस्करणमा बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ कथा तृतीय भएको थियो । गत वर्ष भने मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तेस्रो भएको थियो ।

Leave a Reply