फेरि सेतो पुतली आतंक,समयमा उपचार नभए आँखाको दृष्टिसमेत गुम्छ

0

पोखरा सराङकोटका आर्यन अहिले बिरामी छन् । उनको आँखामा समस्या देखिएको छ । थप उपचारका लागि उनलाई २ दिनअघि काठमाडौंमा लगिएको छ ।

१५ दिनअघि आर्यन घरमा खेलिरहेका थिए । ३ वर्षीय आर्यन बेलुकी ८ बजेतिर आमाको मोबाइलमा गेम खेल्न मस्त थिए । उनीसँगै दाइ, बुवा कोठामै थिए । आमा भने भान्सामा थिइन् । अचानक कतैबाट १ सेतो पुतली कोठामा आयो । पुतली देखेर मोबाइल खेल्दै गरेका आर्यनको ध्यान त्यतै गयो ।

आँखामा समस्या आएपछि साबुन पानीले धोएको र आइड्रपसमेत हालेको आर्यनकी आमा जमुना बताउँछिन् । ‘२÷३ दिनसम्म ठीकै थियो । एक्कासि ४ दिनपछि त आर्यनको आँखा रातो हुन थाल्यो । कालो नानी पूरै सेतो देखियो । हामीले पोखराको हिमालयन आँखा अस्पताल लग्यौं,’ जमुना भन्छिन्, ‘सेतो पुतलीको झुस आँखामा पसेको डक्टरले बताए ।’ त्यसको भोलिपल्टै आँखाको शल्यक्रिया गरियो ।

अझै १ हप्तासम्म पनि छोराको आँखा सञ्चो नभएको जमुनाले सुनाइन् । ‘आँखामा पीप जमेजस्तो सेतो झनै बढ्दै गयो,’ उनले भनिन् । आँखा अस्पतालमा भिडियो एक्सरे बिग्रिएको जानकारी पाएकी उनलाई डक्टरले काठमाडौं लगेर उपचार गर्न सुझाए ।

आँखामा पीप जमेपछि उनलाई छोराले आँखा देख्न सक्छ कि सक्दैन भन्ने पिरलो छ ।

पर्वतकै मिस्ट्री सुनार २ हप्तादेखि बिरामी छन् । २ वर्षीय सुनारलाई कसरी सापु भयो परिवारलाई थाहा छैन । उनलाई पनि आमा देवीले काठमाडौं पु¥याएकी छन् ।

हिमालयन आँखा अस्पतालकी डा. इलिया श्रेष्ठले केही दिनदेखि सापुका बिरामी बढेको जानकारी दिइन् । अस्पतालकी कार्यवाहक मेडिकल निर्देशकसमेत रहेकी श्रेष्ठ पोखरा, बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाबाट सापुका बिरामी उपचारका लागि आएको बताइन् ।

यो साउनदेखि हिमालयन अस्पतालमा ११ जना सापुका बिरामी उपचारका लागि आएका छन् । पोखराका ७, बागलङका २ र पर्वतका २ जनामा सापु पुष्टि भएको छ । आँखामा यस्तो समस्या भएको थाहा पाएको बढीमा ४८ घण्टाभित्र अस्पताल पुग्न  सुझाव छ। सिधै आँखामा पुतली नबसे पनि पुतलीको झुस खसेको कपडाबाट वा हातले छोइएर आँखामा सापु लाग्न सक्छ । यो रोग मानिसको एउटा आँखामा मात्रै लाग्छ ।

कसरी चिन्ने सापु फैलाउने पुतली ?
सेता पुतली ३ सयभन्दा बढी प्रजाति हुन्छन् । तीमध्ये एक प्रजातिको सेतो पुतलीमा शीरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ । यो पुतली उज्यालो वस्तु जस्तै बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने चिकित्सकहरु बताउँछन् । पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण लाग्ने विज्ञहरु बताउँछन् । Samadhannews.com

Leave a Reply