एमसीसी पास गर्नु विष खाए सरह : प्रेम सुवाल

0

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन्।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे।

नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सय थरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए।

सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो। यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन्। यो संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन। बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ। विष भनि थाहा पाइकन खाए के हुन्छ? एमसीसी त्यही हो। अमेरिकी अधिकारीहरुले सय थरी कुरा गर्दैछन्। हामी उनीहरुका सयथरी कुरामा फस्नु हुन्न।’

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे।

Leave a Reply