खुब सुहाएको छ…

0

खुब सुहाएको छ

टाइ, सुट
बेल्ट र बुटमा सजिएर
भाषण गर्न ।
खुब जुराएको छ
नोटमा भोट किनेर
शासन गर्न ।

खुब सुहाएको छ
भ्रष्टचारीलाई समाजवाद
अपहरणकारीलाई साम्यवादको
कुर्ली कुर्ली भाषण गर्न ।
निमुखालाई शासन गर्न ।

मलाई
समाजवादको बिल्ला ओडाएर
आफू भने पुँजीवादमा डुब्न
खुब सुहाएको छ ।

मलाई ल्याउनकै लागि
कयौंको,
सिउँदो पुछिएको छ
चुराहरु फुटाइएको छ
खुसीहरु लुटाइएको छ ।
कतिलाई टुहुरो
कतिलाई लुलो लङ्गडो
बनाइएको छ ।
बिना स्वार्थ
बिना अर्थ
कयौंलाई
जीउँदै जलाइएको छ
सहीद बनाइएको छ ।
आज पनि,
अनाथहरु भोकै जलेका छन
वृद्धाहरु शोकमै ढलेका छन ।

यसरी ल्याइएको मलाई
धेरै पटक
मिचिएको छ
थिचिएको छ
चिमोटीएको छु
निमोठिएको छ ।

स्वार्थकै लागि
मलाई
जलाउन खोजिएको छ
म भित्र रहेर बनेका
व्यवस्था नै ढलाउने
चाल चालिएको छ
म भित्रको मलाई
नष्ट गर्ने
चेष्टा पालिएको छ ।

तर पनि मलाई
जलाउन खोज्ने
तिमीहरु नै,
मेरा धारा धाराको टुक्का बनाएर
कसैले समाजवादको
कसैले साम्यवादको
गीत गाउँदै हिड्छौ ।
क्रान्ति गरेर आएको तिमी
शान्तिको हल्ला
फिजाउँदै हिड्छौ ।
हरेक क्षण मलाई
लुटेका छौ
तर पनि हरेक वर्ष
मेरो दिवस मनाउन
टाइ सुट
बेल्ट र बुटमा
जुटेका छौ ।
त्यसैले तिमीलाई
खुब सुहाएको छ ।
मनकुमार जुग्जाली मगर
मंगला-१, भर्जुला, म्याग्दी
शिक्षक (श्री थाइबाङ्ग आधारभूत विद्यालय)

Leave a Reply