बजेट हुँदा खाल्डैखाल्डा, नहुँदा टिकाटिप्पणी

0

दुई करोड लगानी भएको पाग्जा अमलाचौर सडकमा खाल्डाखुल्डी धेरै छन् । केही स्थानमा ढलान, केही स्थानमा ग्राभेल गरिएपनि सहज यात्रा गर्न कठीन छ ।
अझ दुई महिनादेखि मालढुंगातर्फको सडक पहिरोले अबरुद्ध भएपछि त यो सडकमा सवारी चल्ने कुरै भएन । सडक डिभिजनले चालु वर्ष भने बजेट नभएको भन्दै काम गर्न नसक्ने बताएको छ । सरकारले पुरक बजेटमा सम्बोधन नगरेको समेत टिप्पणी भएको छ ।

४० लाख खर्च भएको अक्षेते, भिमापोखरा सलाम सडक सुधार आयोजनाले सहज यात्रा हुने आस गरेका स्थानीय बर्षातमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । स्थानीय पालिकाले सानो खर्चमा मर्मत सुधार गरेपनि डिभिजनबाट हुने काममा ठूलो रकम खर्च भैरहेको छ । तर उक्त खर्च अनुसार सडक सहज र सुचारु हुन भने सकेका छैनन् । चालु वर्ष १३ वटा सडक आयोजनामा लगानी नभएर काम गर्न नसक्ने डिभिजन सडक कार्यालयका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताए ।

सिगाना चापाखर्कहुँदै बरेङ जाने सडकमा पनि गत बर्ष ४०लाख खर्च भएको थियो । चालु वर्ष बजेट नभएर काम अगाडि बढाउन नसकिने उनले जानकारी दिए । सरकारले सार्वजनिक खरिद प्रक्रिया अगाडि नबढ्ने बताएपछि गत बर्षका सबै सडक आयोजना ठप्प भएका हुन् । पुरक बजेटले म्याद थपेर फरफारक गर्नेसम्म काम भएपनि नयाँ खर्च गर्ने संभावना टरेको लामिछानेले जानकारी दिए । ‘ती सडकमा काम नभएकोले चालु बर्ष धेरै कामै नहुने भए’ लामिछानेले भने, ‘निर्माणाधिन पुल भने हेरीरहेका छौं ।’

ग्रामीण क्षेत्रमा खुलेका ट्रयाकले दुइ वा दुईभन्दा बढी पालिका जोड्ने रणनीतिक सडक बनाएको खण्डमा ती स्थानमा डिभिजनले लगानी गरेर काम थाल्ने गरेको छ । सडक मापदण्ड पालना र कडाइ गर्नमा भने डिभिजनले पनि पालिकाको सहयोग लिने गरेको छ । राष्ट्रिय राजमार्ग भएमा सोही अनुसारको मापदण्ड बन्ने र साना सडकतर्फ पालिका अनुसारको मापदण्ड बन्ने समेत उनले बताए । तत्काल सडक नबन्दा उपभोक्ताले भने लगानी अनुसार फाइदा लिन नसकेको टिप्पणी गरे ।

‘बरेङ जाने स्तरीय सडक बन्ला भन्ने सोचेका थियौं, तर बजेट अभावमा अलपत्र पर्ने भयो’, बरेङ गाउँपालिका–४ की प्रमिला पुनले भनिन्, ‘सडक अलपत्र पर्दा यात्रा कठिन हुने भयो ।’ बरेङतर्फ जाने सडककै गलुवा खण्डमा पनि पहिरोले अबरुद्ध भएपछि अत्यावस्यक सामान समेत ढुवानीमा असर परेको छ । बागलुङका १३ वटा यस्ता सडक चालु वर्ष बजेट नभएर कामले निरन्तरता नपाउने भएका छन् ।

कोरोना संक्रमणलगायतका धेरै बजेट स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गएपछि सरकारी संयन्त्रले भने पूर्वाधारका कार्यक्रममा बजेट लगाउन नसकेको दावी समेत गर्ने गरेका छन् । तर खुलिसकेका सडकलाई स्तरीय बनाउने सन्दर्भमा क्रमगत रुपमा बजेट आएर बनाउन सकिने लामिछानेको कथन छ । कतिपयले भने यस्ता बजेट घट्नुमा राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गर्छन् ।

Leave a Reply