संखुवासभा हत्याः यस्तो रहेछ खास योजना

0

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा नयाँ ‘ट्वीस्ट’ आएको छ । घटनापछि सुरुमा पक्राउ परेका लोकबहादुर कार्कीले प्रहरीसमक्ष सबैको हत्या आफूले एक्लै गरेको बयान दिएका थिए । तर, प्रहरीको अनुसन्धानमा सबैको हत्या उनी एक्लैले गर्नु त परको कुरा उनी हत्याका मुख्य योजनाकार समेत नभएको खुलासा भएको छ । हत्याका योजनाकारहरूले लोकबहादुरले मानसिक रोगको औषधि पनि खाने गरेका कारण प्रहरीले पत्ता लगाइहालेमा उनी एक्लैले जिम्मा लिने सल्लाह गरेका थिए । सोहीअनुसार उनले हत्याको जिम्मेवारी एक्लै लिएका थिए ।

गएको भदौ २१ गते संखुवासभा, मादी नगरपालिका वडा नं. १ खोलागाउँमा ८४ वर्षकी पार्वता भन्ने पार्वती कार्की, उनका छोरा ५५ वर्षका तेजकुमार कार्की, ५४ वर्षकी बुहारी कमला भन्ने मनमाया कार्की, नातिनी बुहारी ३२ वर्षकी रञ्जना कार्की, पनाती ८ वर्षका वपिन भन्ने दिपेन कार्की र पनातिनी ५ वर्षकी गोमा कार्की गरी एकै परिवारका ६ सदस्यहरुको हत्या भएको थियो । घटनामा ९० वर्षका बौद्ध वहादुर कार्की भने सकुशल थिए । प्रहरीले अनुसन्धानको क्रममा २७ गते २५ वर्षका लोकवहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार ५ जनाले योजनाबद्ध तरिकाले परिवारको हत्या गरेका थिए । यो समूहको योजना अनुसार नै लोकबहादुरले योजनाबद्ध तरिकाले एक्लै हत्याको जिम्मेवारी लिएका थिए । प्रहरीले लोकबहादुरपछि उनका भाइ १७ वर्षका नरेश कार्कीलाई पक्राउ गरेको थियो । त्यसपछि छिमेकीहरु ४७ वर्षका खड्ग बहादुर कार्की, खड्ग बहादुर कार्कीको छोरा २८ वर्षका हस्तबहादुर कार्की र ४९ वर्षका रणबहादुर कार्कीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पछि पक्राउ परेकामध्ये खड्गबहादुर कार्की मुख्य योजनाकार हुन् ।

प्रहरीका अनुसार हत्याको योजना अभियुक्त लोकबहादुर कार्कीको घरमा अघिल्लो राति ८ बजे बनेको थियो । त्यहाँ मुख्य योजनाकार खड्गबहादुर कार्की सहित हस्तबहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्कीसमेत बसी बनाएका थिए । योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने तय गरिएको थियो ।

त्यस क्रममा अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने समेत योजना बनेको थियो । उनीहरुले हत्यापछि अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लैजाने योजना बनाएका थिए । घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित थियो । त्यो दिन बिहानै हत्याको योजना बनाइएकोले तेजकुमार लोकबहादुरको घरमा आउन् भन्ने निश्चित गर्न खड्ग बहादुर कार्की विहान ५ बजे तेज कुमार कार्कीको घरमा गई ‘लोक बहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनेका थिए ताकि तेजकुमार लोकबहादुरको घरमा जाउन् ।

त्यसपछि तेजकुमार लोकबहादुर कार्कीको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्त बहादुर उनको घरपछाडि चिर्पट बोकेर तयारी अवस्थामा बसेका थिए । तेजकुमार लोकबहादुरको घरमा गएर उनलाई उठाएका थिए । त्यतिबेला लोकबहादुरको घरमा लोकबहादुरसँगै उनका भाइ नरेश र रणबहादुर समेत साथमै थिए । तेजकुमार खेताला भनेर फर्कने क्रममा योजनाअनुसार पछाडिबाट लोकबहादुरले पछाडिबाट गएर तेजकुमारको टाउकोमा प्रहार गरेका थिए । त्यसपछि खड्गबहादुर र हस्त बहादुर समेत आएर तेजकुमारमाथि प्रहार गरेर उनको हत्या गरेका थिए ।

मार्ने क्रममा तेजकुमारले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै चिच्याएपछि त्यो सुनेर तेजकुमारकी श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई चिर्पट प्रहार गरे । हस्तबहादुरले कमलाको घाँटीमा छुरा प्रहार गरे । बुहारी रंजनालाई नरेशले ठेली खोल्सामा झारिदिए । खड्ग बहादुर, लोक बहादुर र हस्त वहादुर मिलेर उनको पनि हत्या गरे । मृतक रंजनाको लाश रणबहादुर र नरेश समेतले कमलाको लास भएको ठाउँमा ल्याएर फालेका थिए । त्यही बेला नाबालकहरु दिपेन र गोमा पनि घर नजिकको वाटोमा आएको देखेपछि हस्त बहादुर र लोक बहादुरले वाटो छेकी मुख थुने । लोकबहादुरले चिर्पटले हिर्काए र घाँटी बटारेर हत्या गरे ।

त्यसपछि पाँचै जना मृतकको घरमा गए । त्यहाँ ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेकी थिइन् । उनलाई हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगेर लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरे । हत्यामा प्रयोग भएका हतियारहरु र रगत लागेका कपडाहरु लोक बहादुरको घरमा लगेर लुकाए । फर्कने क्रममा रञ्जनाको ओप्पो मोवाइल नरेशले लिएर स्विच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएका थिए । तर, पछि नरेशले त्यो मोवाइल अन गरेर चलाएपछि प्रहरीले क्लु पाएर नरेशलाई पक्राउ गरेपछि अरु अभियुक्तबारे समेत खुलासा भएको थियो ।

किन गरियो हत्या ?

अभियुक्तहरू मध्ये खड्गबहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्ने गर्ते । यस्तो नियमित देखिरहेका तेजकुमारले ‘तँ जड्याहा किन यसो गर्छस’ भनी गाली गर्ने गरेका थिए । त्यस क्रममा खड्ग बहादुरले पनि ‘तँलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए ।

उता तेजकुमारले लोक बहादुरलाई पनि ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेका थिए भने उनका भाइ नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गरेका थिए । रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस’ भन्ने गरेका थिए ।

तेजकुमारले जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको भन्ने अभियुक्तहरुको मनमा परेको थियो । उनीहरुले तेजकुमारविरुद्ध मनमा इख पालेर बसेका थिए र बदला लिन चाहन्थे । घटनाको दिन अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने भएपछि सोही मौका छोपी योजना बनाई हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । source: Dcnepal.com

Leave a Reply