कस्तुरी बहुउद्देश्यीय सहकारीले १३औं स्थापना दिवस मनायो

0

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार आफ्नो १३औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले नेपाल भाषा मंकाः खललाई एकलाख २२ हजार दुईसय २२ रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकमको डमी चेक र नगद कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७, बेनीबजारका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र अध्यक्ष राजेश शाक्यले नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलाई एकसाथ हस्तान्तरण गरेका थिए । सहकारीले दिएको ५० हजारमा अध्यक्ष शाक्यले संस्थाबाट पाउनुपर्ने सेवासुविधा वापतको ७२ हजार रुपैयाँ थपेर उक्त रकम सहयोग गरिएको छ ।

स्थापना दिवसको उद्घाटन गर्दै संस्थापक अध्यक्ष श्रेष्ठले सहकारीमा शेयर सदस्यहरुको सङ्ख्या बढाएर कारोबार तथा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । अहिले अधिकांश सहकारी संघसंस्थाहरुमा तरलता रहेको बताउँदै उनले उत्पादन र व्यवसायमूलक क्षेत्रमा लगानी वृद्धिलाई जोड दिन आवश्यक रहेको बताएका छन् । सहकारीका संस्थापक सदस्य तथा गरिमा विकास बैंकका कर्जा विभाग प्रमुख अनुमान श्रेष्ठले सस्थाको कारोबारअनुसार संरचनामा पनि परिवर्तन गर्न आवश्यक रहेको बताउँदै कारोबारलाई डिजिटलाइजेसन बनाउनुपर्ने बताए ।

कार्यक्रमको समापन गर्दै सहकारीका अध्यक्ष राजेश शाक्यले अब पालिकास्तरमा संस्थाको शाखा विस्तार, एटिएम तथा भिसा कार्ड, कमर्सियल बैंकसँग सहकार्यलगायत सेवाहरु थप गरिने जानकारी दिए । नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले मन्तव्य राखेको कार्यक्रममा सहकारीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक सुन्दरमान शेरचनले धन्यवादज्ञापन गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत र सचिव विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply