अमेरिका जाने मन मारेर गाउँमै पशुपालन : मासिक ४ लाखको दुध विक्री

0

जिल्लाको बेनी नगरपालिका-७ कुरिलाखर्कका युवा सुरेश ढुंगानाले पशुपालन व्‍यवसायबाट गाउँ-घरमै मनग्ये आम्दानी गर्न थालेका छन्।

१० वर्ष अरबको खाडीमा पसिना बगाउँदा पनि सोचेजस्तो उपलव्धि नभएपछि स्वदेशमै सम्‍भावना देखेर गाउँ फर्किएका ३७ वर्षीय ढुंगानाले पशुपालन व्‍यवसाय गर्ने निधो गरे।

अनि सुरु गेर भैँसीपालन व्यवसाय।  ८ वर्ष अगाडि ढुङ्गाना कृषि तथा पशुपक्षी फर्म स्थापना गरेर व्यवसाय सुरु गरेका ढुंगानाको फर्ममा अहिले २२ वटा मुर्रा जातका दुहुना भैंसी र दुईवटा जर्सी गाई छन्।

ती भैंसी र गाईबाट दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा विक्री गर्ने गरेको ढुंगाना बताउँछन्। दुई वटा भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुंगानालाई मनग्ये आम्दानी हुन थालिसकेको छ।

सबै खर्च कटाएर मासिक करिब दुईलाखको हाराहारीमा बचत हुने ढुंगाना बताउँछन्। फर्ममा अहिले पचास लाख रुपैयाँ जति लगानी भइसकेको उनले बताए। उनले भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिएका छन्।

‘बिहान उठेदेखि रातिसम्म भैंसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु। समय गएको पत्तै हुँदैन। साँझपख बजारमा दुध पुर्‍याउन जान्छु। बेनीबजारको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्‍याएपछि बल्ल शरीरमा फूर्ति आउँछ’ ढुंगानाले भने।

प्रतिलिटर ९० रुपैयाँमा दूध बिक्री हुने गरेको उनले सुनाए। ढुंगानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दुध पुर्‍याउँछन्। ‘बजारको अभाव छैन,जति पनि बिक्री हुन्छ तर,गुणस्तरलाई खस्कन दिनुहुँदैन’ ढुंगानाले भने।

पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सनाए। उनले पाँच रोपनी जग्गामा फर्म बनाएका छन् भने फर्ममा दुईजनालाई रोजगारीसमेत दिएका छन्।

भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफै खटिने ढुंगानले विदेशमा गएर अरुको अधीनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकुल व्यवसाय गर्ने हो भने मनग्‍ये कमाइ गर्न सकिने बताए।

ढुंगानाले भैंसी पालनसँगै उनले कुखुरा पनि पालेका छन्। अहिले ढुंगानाको फर्ममा २ हजार ३ सय ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन्। दुवै व्‍यवसायबाट हुने आम्दानीले अहिले उनी सन्तुष्ट छन्।

Leave a Reply