मह सिकारीकाे हातमा सास, शिक्षकलाई गास

0

अक्करे भीरमा एउटा हातमा चोयाको डोरीको भ¥याङ (पराङ), सुरक्षाका लागि चोयाकै डोरी, मह संकलन गर्ने डाली, कोप्नका लागि निगालाको टुप्पोमा फलाम बाँधिएको डग र मह बोक्नका लागि गाग्री लगायत थुप्रै सामान ।

यी सामग्रीसहित एउटा हातको भरमा ज्यान हत्केलामा राखेर मह सिकार गर्न २६ वर्षीय रेशम पुन अब्बल छन् । मह सिकार उनले बुढापाकाले गरेको देखेर नै सिकेका हुन् । कसैले हेर्दा पनि कहालीलाग्दो भीरको बीचमा हातको सहाराले मह सिकार गर्दै उनले म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका युवाले विद्यालय सञ्चालन गर्न निजी शिक्षकलाई तलबमा सहयोग गर्ने गरेका छन् ।
पराङको भरमा वर्ष २ सिजनमा हुने भीर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भीरमा चढेर मह काढ्ने) हुन् । अग्ला र अक्करे पहाडमा मह काढ्ने पेसा जोखिमपूर्ण र साहसिक मानिन्छ । भीरपहरामा ज्यान हत्केलामा राखेर काम गर्नुपर्ने भए पनि पुन लगायतका युवा मह सिकार पेसालाई जोगाउन अग्रसर छन् ।

कुइने मंगलेमा मह सिकारबाट भएको आम्दानीलाई स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकको तलब जुटाउन खर्च गर्ने गरिएको छ । वडाभित्रका गाउँबस्तीका स्थानीयले आलोपालो गरी मह काढ्दै आएकोमा वडा कार्यालयको संयोजनमा टोली विभाजन गरी मह काढ्ने र मह बिक्री गरी गर्ने गरिएको छ । यसबाट भएको आम्दानीबाट बचत रकमलाई विद्यालय सञ्चालनमा सहयोग गर्न थालिएको छ ।
वडाध्यक्ष गमान छन्त्यालका अनुसार संकलन भएको मह बिक्री गरी मह काढ्न परिचालन भएकालाई पारिश्रमिक छुट्याएर बचत हुन आउने रकम विद्यालयका निजी स्रोतबाट राखिएका शिक्षकको तलब जुटाउन प्रयोग गरिन्छ । भीरमा चढेर मह काढ्ने भिरौटेलाई प्रतिदिनको ३ हजार ५ सय रुपैयाँ, भीरको टुप्पोमा बसेर मह संकलनमा सघाउनेलाई २ हजार र अन्य सहयोगीलाई १ हजार १ सयका दरले पारिश्रमिक उपलब्ध गराउने गरिएको छ । एकीकृत रुपमा संकलन हुने मह बजार दररेट अनुसार बिक्री गर्ने गरिएको छ ।

प्रशोधन गरी बिक्रीका लागि बजारमा ल्याइएको मह प्रतिलिटर २ हजार रुपैयाँसम्म पर्छ । वडाभित्र रहेका बस्तीलाई समेटर समूह विभाजन गरी मह भएका भीर बाँड्ने र मह काढ्ने गरिएको वडा अध्यक्ष छन्त्यालले सुनाए । उनले भने, ‘आफैंमा जोखिमपूर्ण काम हो मह सिकार, यो पेसाको निरन्तरतामात्रै गरिएको छैन, स्थानीयको आयआर्जन र शून्य दरबन्दी भएको मावितहका शिक्षकको तलब जुटाउनसमेत मह सिकार सहयोगी बनेको छ ।’

समुदाय स्तरबाट चन्दा संकलन लगायतका माध्यमबाट वार्षिक लाखौँ रुपैयाँ जुटाउनुपर्ने अवस्थामा मह सिकारबाट हुने गरेको सहयोगले विद्यालयलाई राहत मिल्ने गरेको विद्यालयका प्रधानाध्यापक खिम छन्त्यालले बताए । मह राम्रो उत्पादन भएको वर्ष ३ लाखभन्दा बढी रुपैयाँ विद्यालयलाई सहयोग जुट्ने गरेको छ ।

‘संधै एकैनासको मह संकलन हुँदैन, कुनै सिजनमा मह काढ्नेहरुको पारिश्रमिक जुटाउन पनि धौ पर्छ, कुनै सिजनमा राम्रो भयो भने पारिश्रमिक कटाएर विद्यालयलाई सहयोग प्राप्त हुन्छ’ छन्त्यालले भने । यस विद्यालयमा निजी स्रोतका शिक्षकको तलब भत्तामा समुदायले वार्षिक करिब ९ लाखभन्दा बढी जुटाउनुपर्ने बाध्यता छ । विद्यालयमा १ सय २० बालबालिका छन् ।

पुख्र्याैली धान्दै युवा
पुख्र्यौली पेसाको रुपमा चिनिने मह सिकारको सीप हस्तान्तरण नहुँदा विभिन्न ठाउँमा मह सिकार हराउन थाले पनि यहाँका युवा भने मह सिकारलाई आयआर्जनको माध्यम बनाइरहेका छन् । १३ वर्षको उमेरदेखि नै मह सिकारमा लागेका रेशम पुनले दशकभन्दा बढी समयदेखि भिरौटेको जिम्मेवारी सम्हालेका छन् ।

उनी सुरुमा मह काढेको हेर्न पुग्थे । पछि मह बोक्ने, काढ्ने ठाउँमा सहयोगी हुँदै सिकारी बनेका हुन् । सुरुमा होचा र कम जोखिम भएका भीरमा मह काढेका पुन अहिले भने अक्करे पहाडमा चढेर मह काढ्छन् । चोयाको डोरीमा झुन्डिएर माहुरीका चाका नजिक पुगेर मह काढ्ने काम उनका लागि सामान्य जस्तै बन्न पुगेको छ ।

पुनसँगै पात्लेखर्कका ३० वर्षीय धनबहादुर पुन पनि मह सिकारका भीरौटे हुन् । ८ वर्षदेखि भीरमा चढेर मह काढ्ने काम गर्दै आएका पुनले भीरमा चढ्ने काम कठिन र जोखिमयुक्त भए पनि पुर्खाले अपनाउँदै आएको पेसा अबलम्बन गरेको उल्लेख गरे ।
चोयाबाट बनाइएका डालीलाई भीरौटेले मौरीको चाका नजिक लगेर टुप्पोमा कोप्न मिल्ने बनाइएको निगालाको सहायताले मह काढ्ने गर्छन् । मह सिकारले आयआर्जनसँगै पुरानो पेसा पनि जोगिने भएकाले आफूहरुले यसलाई निरन्तरता दिएको धनबहादुरले बताए ।
गाउँदेखि टाढाका जंगल, खोला, नदीका कठिन बाटो भएर भीर माहुरीको घार भएको ठाउँसम्म पुग्नुपर्छ । हरेक दिन फरक फरक भीरमा पुग्नुपर्ने, नजिक नजिकमा कमै मात्रामा माहुरीको घार हुने भएकाले हरेक दिन कठिन यात्रा र संघर्ष गरेर मह संकलन गर्नुपर्ने बाध्यता हुन्छ । पात्ले खर्कका १२ युवाको समूहले यस पटकको सिजनमा कन्ठेडम्मार र नरपट्टाखोला क्षेत्रका दर्जन बढी भीरमा करिब २० दिन लगाएर मह सिकार गरेका थिए ।

हरेक सिजनमा काढेको मह बिक्रीबाट ५ देखि ७ लाखसम्म गाउँमा भित्रिने गरेको छ । सुरुका दिनमा जंगल र भीरका देउतालाई खुसी बनाउन र कुनै अप्रिय घटना नहोस् भन्ने कामनासहित पूजा गरी धजा बाँध्ने चलन छ । भीरमा मह भएको निक्र्याैल भएपछि पहाडको टुप्पोमा रहेका रुखमा पराङ बाध्ने र भीरतर्फ खसाल्ने गरिन्छ । सकभर भीरको शिर र पुछार दुबैतर्फ हेरालो बस्ने गर्छन् । News Source: samadhan news.com/Photo:Google

Leave a Reply