आँखा गए, टेक्ने लठ्ठी भाँचियो

0

दशैंमा सन्तान गुमाउनुका पीडा सोमबार पोखरामा देखियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्ष अगाडी एकजना महिला बर्बराउँदै थिइन् । अर्का पूरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए ।
आकस्मिक कक्षभित्र ८ जनाको शव लस्करै राखिएको थियो । सोमबार दिउँसो घान्दु्रकजाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाउनेहरुको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी लागिपरेका थिए ।

दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीय सुजा चौधरी बिएस्सी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन् । उनका बहिनी २० बर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन् । घान्द्रुक दुर्घटनामा उनीहरु दिदीबहिनी नै परे ।

आमा पार्वती र बुबा बाबुराम सन्तान यी दुई छोरी मात्र हुन् । दुर्घटना भएको खबर पाउनासाथ उनीहरु हेलिकप्टर चार्टर गरेर पोखरा झरे । दुर्घटनामा दुबै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन । छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन् । अस्पतालको आकस्मिक कक्षअघि असह्य पीडा पोखिरहेकी थिइन् ।

‘जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुबै छोरी जन्माएकी थिएँ’, पार्वती एक्लै बर्बराउँदै थिइन्, ‘आज मेरो शरीर भतभती पोलेछ, मेरो डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु ।’

पार्वती क्यान्सरको रोगी छन । उपचारमा नर्सिङ पढेकी छोरी खटिन्थिन् । उनले त्यसैको संझना गरेकी थिइन् । पार्वतीको घर चितवनको सौराहा हो । तर, लामो समयदेखि काठमाडौं बस्न थालेकी थिइन् । उनीहरु कपडाको व्यापार गर्छन् । व्यापारका क्रममा १ महिनाअघि भारत गएका थिए । नेपाल फर्केको जम्मा २ हप्ता भएको रहेछ । ‘म नेपाल आउँदा वेयलकम ममी भनेका थियौ, सपिङ गर्दिनु हामी घुम्न जान्छौं भनेका थियौ, सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी ?’ बेहोसीमै पार्वतीले भनिन् ।

आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहेकी थिइन् । छोरीहरुसँग घुम्न जान पार्वतीले आग्रह गरेकी रहिछन्, उनले श्रीमान्लाई भनिन्, ‘मैले भनेथेँ नि तपाईँलाई, छोरीहरुको गार्जियन, सँगै जानु भनेर…..।’

सुजा र लिजासहित काठमाडौंबाट अरु ४ जनासँगै आएका थिए । जसमा १८ वर्षीय जिनलव घिसिङ र उनका दिदी २० वर्षीय देविका घिसिङ सँगसँगै आइतबार पोखरा आएका थिए । यस्तै, काठमाडौं– ३ गंगबु बस्ने २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भइ गंगबु बस्ने विनय क्षेत्री, २० वर्षीय सुमन चौधरी अर्को समूहमा पोखरा घुम्न आएका थिए ।

यी दुबै समुहको भेट पोखराबाट घान्दु्रक जाने बेला जीपमा भएको थियो । उनीहरुलाई कास्कीकै अन्नपूर्ण– ५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्रीले जीपमा राखेर लगेका थिए । नयाँपुलबाट ग १ ज ६९०० नम्बरको जीप घान्द्रुकतर्फ उकालो लाग्यो । कच्ची बाटोमा ढुङ्गा बिच्छ्याउने काम भइरहेको थियो । कामदारले जीप रोक्न लगाए । उकालोमा रोकेका कारण जीप अडिन सकेन । पछाडीतर्फ गुड्न थाल्यो र झण्डै २ सय मिटर तल मोदी खोला किनारमा खस्न पुग्यो ।

उकालोमा रोकिएको जीप पछाडीतर्फ गुड्दा आफै अनियन्त्रित भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । दुर्घटनामा परेर चालकसहित ८ जना ज्यान गुमाए । दुर्घटनाबाट एक जना देविका घिसिङ मात्र बाँच्न सफल भइन् । उनको बाँया हात र नाकमा चोट लागेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

घान्द्रुक जाँदा देविका जीपको पछाडी बसेकी थिइन् । दुर्घटनामा परेको जीप गुल्टँदै जाँदा उनी जीपबाट बाहिर हुत्तिन्, र एउटा रुखमा पुगेर अड्किन् । यसरी आफ्नो ज्यान जागिएको देविकाले बताएकी छिन् । उनीसँगै घुम्न गएका भाइ जीनलव घिसिङ भने दुर्घटनाबाट जोगिन सकेनन् ।

सुजा र लिजाका आमा पार्वतीको बिलौना भने अझै रोकिएको छैन । उनलाई अस्पतालको आकस्मिक कक्ष बाहिर नै राखिएको छ । छोरीको उपचार भइरहेको भनेर आफन्तले थामेका छन् । बेलाबखत जोडतोडले अस्पतालभित्र छिर्न खोज्छिन्, आफन्तले रोकेर राख्छन् । उनी बोल्न भने छोडेकी छैनन् । पार्वतीले भनिरहिन्, ‘छोरी हो, काठमाडौं जाने हो आउ, म मेरो स्वास दिन्छु नि ।’ source: dhorpatandaily: Photo: Uttam Shrestha

Leave a Reply