दिनेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय एमाले पुलाचौरको वडा कमिटी गठन

0

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुलाचौर वडा कमिटीको शनिबार सम्पन्न प्रथम अधिवेशनले दिनेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ । वडा कमिटीको उपाध्यक्षमा विशाल बानियाँ, सचिवमा चन्द्रबहादुर बानियाँ, उपसचिवमा विनोद परियार र दुर्गा पौडेल चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्य एवं वडा सदस्य रामप्रसाद सुवेदीले परमादेशबाट बनेको सरकारले तीन महिना लगाएर मन्त्रीपरिषदलाई पूर्णता दिएकाले काम गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनमुखी र लोकप्रिय कामहरु गरेको बताउँदै अहिलेको सरकारले अघिल्लो सरकारको पालामा बजेट छुट्याएका योजनाहरु कटौती गर्ने, अध्यादेश ल्याएर पार्टी फुटाउने, दलित तथा भूमिहिनको समस्या समाधान गर्न बनेको सुकुम्वासी आयोग खारेज गर्ने जस्ता जनघाती कामहरु गरेको आरोप लगाउनुभयो ।

एमाले जिल्ला सदस्य गोविन्द बानियाँले एमाले र माओवादीको बीचमा पार्टी एकता भए पनि पार्टीका कुनै पनि गतिविधिहरु नभई पुरानै अवस्थामा फर्किएकाले अब पार्टी कामले गति लिने बताउनुभयो । पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले वडामा स्थानीय जनचाहनाअनुसार बजेट विनियोजन गरी विकास निर्माणका कामहरु गरिएको बताउँदै वडाको पहलमा सङ्घीय सांसद भूपेन्द्रबहादुर थापामार्फत पुलहाश्रम क्षेत्रमा तीन करोड २५ लाख रुपैयाँको लागतमा रावणपार्क निर्माणकार्य थालिएको जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधि र वडामार्फत सञ्चालित योजनाहरुको पार्टी तहबाट अनुगमन र निरीक्षण गरेर आवश्यक सल्लाह÷सुझाव दिन आग्रह गर्नुभएको छ ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले एमालेको विरुद्धमा अन्य दलहरु गठबन्धन गरेर अगाडि बढेकाले आगामी चुनावमा एमाले एक्लै लड्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सबै तयारी गरेर चुनावका लागि केन्द्रीत हुनुपर्ने धारणा राख्नुभएको थियो । अधिवेशनको उद्घाटनसत्र निवर्तमान वडा कमिटी अध्यक्ष भोजबहादुर कार्कीको अध्यक्षता, सचिव खड्कबहादुर दर्जीको स्वागत र दिनेश कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अधिवेशनको अवसरमा पुलाचौर क्षेत्रका नारायण बानियाँ, नरबहादुर परियार र रामबहादुर कार्कीले नेपाली कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका नेताहरुले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । वडा कमिटीका नवनिर्वाचित अध्यक्ष दिनेश कार्कीले अब पार्टीका गतिविधिलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने र पार्टीमा सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply