बजारमा नक्कली नोटको विगविगी, सक्कली या नक्कली नोट : कसरी थाहा पाउने ?

0

केही गिरोह बजारमा नक्कली नोट बोकेर सामान खरिद गरीरहन्छन् । झोलाभरी नक्कली नोट बोकेर सामान खरीद गर्दै हिड्छन् । थोरै थोरै रकम साटेर नक्कली नोटलाई सक्कली बनाउँछन् । यस्ता गिरोह बजारमा छन् । कोही नक्कली नोट छपाईको काम गर्छन् । छपाईको काम गर्ने यस्ता व्यक्तिले कारोबार गराउने गिरोहलाई हात लिएका हुन्छन् ।

बजारमा नक्कली नोट छपाएर सो को कारोबार गर्ने गिरोह सक्रिय रहेको छ । हालै धनकुटा प्रहरीले नक्कली नोट कारोबारमा सम्लग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा धनकुटा १ हिलेका २६ वर्षीय विशाल तामाङ, ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका ४ का छितेन तामाङ, हिलेका २४ वर्षीय सोनम तामाङ, महालक्ष्मी नगरपालिका ८ का सुमन खड्का, छथरजोरपाटी गाउँपालिका सिधुवाका २४ वर्षीय तुलसी तामाङ र इटहरीबाट पक्राउ परेका २१ वर्षीय विकास तामाङ छन् ।

प्रहरीले चेक जाँचका क्रममा विभिन्नि स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए । प्रहरीले १ लाख नोट बरामद गरेको छ । प्रहरीले पक्राउ गर्ने खबर पाएपछि १ लाख नक्कली नोट उनीहरुले जलाएको प्रहरीले जनाएको छ । जलाएर नष्ट गर्ने व्यक्तिलाई पनि प्रहरीले निगरानीमा लिएको छ । प्रहरीले उनीहरुबाट ७ थान मोबाइल सेटसमेत बरामद गरेको छ ।

नक्कली नोट कसरी छुट्याउने ?

कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक लागेको सिक्का, नोट इत्यादी स्थिति चलनका कुरा कसैले बाहिर टकमारी छाप नम्बर, निशाना इत्यादी बनाउन लगाएमा बनाउन उद्योग  गर्न र त्यस्ता माल कसैले जानी जानी खरीद गरेमा खोटा चलन गरेको ठहर्छ “ भनि ब्याख्या गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ६ को दफा ५२ ले नोट तथा सिक्काको छपाई गरि निसष्काशन गर्ने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ । यस बाहेक अरु कसैले जालसाँजी वा किर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नोट बनाएमा त्यस्ता नोटहरु जाली अथवा नक्कली हुन् ।

हाम्रो देशमा कहिलेदेखि जाली नोट देखापर्यो भन्ने कुराको कुनै प्रमाण नभए पनि  वि.सं. २०२५/२६ तिर गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर भएको रु. ५ दरको नोटसँग मेल खाने नोट बजारमा ल्याइएको थियो भन्ने कुरा पुराना मुद्रा संग्रहकर्ताको भनाइ छ । उनका अनुसार गैह्रिधारा नाम नखुलेको एक व्यक्तिलाई प्रहरीले समाति थुनेको पनि थियो । त्यसैगरी वि.सं. २०३६/३७ तिर सिद्धार्थनगरमा गभर्नर कुलशेखर शर्माका हस्ताक्षर भएका रु. १०० दरका जालीनोट बजारमा देखापरेको थियो भनिएको छ ।

केहीबर्ष अघिसम्म भारतीय जाली नोटहरुको कारोबार अत्याधिक मात्रामा रहेको थियो । यसको तुलनामा नेपाली जाली नोटहरु कमै भेटिन्थे । तर, पछिल्ला समयमा संघठित गिरोहहरुले नेपाली जाली नोटहरुको कारोबार पनि बढाएको छन् । हाल बजारमा अत्याधिक रुपमा रु. ५०० र रु. १००० दरका तथा नगन्य मात्रामा रु.१०० दरका जाली नोटहरु देखा परिरहेका हुन्छन्, जसमा हामी पनि थाहै नपाई फस्न सक्छौँ । त्यसैले जाली नोटहरुबाट बच्न हामीले बेलैमा सजगता अपनाउनुपर्छ । जाली नोट र सक्कली नोट हामी आफैँले छुट्याउन सक्यौँ भने हामी ठगिनबाट बच्न सक्छौँ ।

सक्कली या नक्कली नोट : कसरी थाहा पाउने ?
कुनै नोट जाली हो वा होइन भनि पहिचान गर्ने प्रमुख आधार नोटमा रहेको सेक्युरिटी फिचर्स नै हो । सक्कली नोटहरुमा हुने यस्तो फिचर्स जाली नोटहरुमा पाइँदैनन् । केहीमा भएपनि ज्यादै कमशल खालको हुने हुँदा छुट्याउन सकिन्छ । केन्द्रिय बैंकले नै आफूले जारी गर्ने नोटहरुमा सकभर जाली बनाउन नसक्ने र बनाएमा पनि सहजै छुटाउन सकिने खालका यस्ता फिचर्सहरु राखेको हुन्छ । जाली नोट परिक्षण गर्न सुरक्षात्मक उपायहरुका माध्यमबाट केन्द्रिय बैंकको नीति र निर्देशनको अधिनमा रही विभिन्न तालिम, गोष्ठी तथा कार्यपत्र प्रस्तुति मार्फत बैंक तथा बित्तिय संस्था र नोटकोष रहेका बैंकहरुलाई दिने निर्देशन बमोजिम ब्यबहारिक ज्ञानका माध्यमबाट परिक्षण गरी सक्कली वा नक्कली नोट छुट्टाउन सकिने हुन्छ । यसबाहेक बैंक तथा बित्तिय संस्था तथा मुद्राको कारोबार हुने स्थानहरुमा म्यानिफाइङ ग्लास, स्टेप वाचर, अल्ट्रा भ्वायोलेट लाइट, फ्लोरिसिन इंकजस्ता उपकरणको माध्यमबाट परिक्षण गरी सक्कली वा जाली नोट छुट्टाइन्छ ।

यसबाहेक आफैँ पनि कुनै पनि नोट जारी हो या होइन भन्ने जान्न सकिन्छ । यसरी आफैँले जाली नोट थाहा पाउन सके ठगीबाट बच्न सकिन्छ । हेर्नुस्, जाली नोट चिन्ने ७ सहज तरिका :

  • सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।
  • सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन ।
  • सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।
  • सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।
  • सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
  • नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
  • सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन ।

कानुनी ब्यबस्था
नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ दफा ९५ बमोजिम जाली खोटो, नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेन गरेमा सो ऐन अनुसार कसुर गरेको मानिन्छ । त्यसैगरी त्यसो कसुर गर्ने कुनु व्यक्ति वा त्यस्ता व्यक्तिलाई कुनै किसिमको सहयोग गर्ने व्यक्तिलाई कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तिन गुणासम्म जरिवाना वा दश बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था मुलुकी ऐनको महल ६ मा व्यवस्था गरिएको छ । त्यसैले, हामी मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले जाली नोट कारोबार गरेको पाएमा सम्बन्धित निकाय या प्रहरीलाई खबर गरी धेरै सर्वसाधारणलाई ठगिनबाट बचाउन सक्छौँ ।  copyright: bankingnews.com

Leave a Reply