दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्छन् । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको उनको गोठमा बाँधिएका दुई दुहुना भैँसी उनका आम्दानीका स्रोत हुन् ।
दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उहाँको गाउँका किसान उत्साहित छन् । दक्षिण बागलुङमा भनाइ छ, ‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू १’ धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात् धेरै दूध दिने भैँसी पाल्छन् । वन तथा चरन क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध, पाडापाडी र मकैबाली हो ।
“हामी गुजारामुखी व्यवसायमा थियौँ, अहिले दूधमा आत्मनिर्भर भएर निर्यात हुन थालेको छ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “यो गाउँपालिकाका लागि खुशीको कुरा हो । हाम्रो कार्यकालको महत्वपूर्ण उपलब्धि पनि ।” स्थानीय बजारमा समेत दूधको खुलेर बिक्री वितरण हुने वातावरण पछिल्लो दुईवर्ष यतामात्रै भएको हो । सडकलगायतका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दूध स्थानीय बजारमा बिक्री भइरहेको छ ।
किसानलाई गाउँपालिकाले सहयोग गरेको छ । दूधको बजारीकरणमा समेत गाउँपालिका किसानको साथमा रहने अध्यक्ष शर्माले बताए । “हामीले कार्यक्रम बनाउँदा होस् वा बजेट विनियोजन गर्दा किसान प्राथमिकतामा रहे”, उनले भने, “रोजगारीसमेत सिर्जना हुने गरी काम गरेका समूहलाई सघाइरहेका छौँ ।” किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधारलगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ