बालुवामा सुनः किंवदन्तीमा विज्ञान

0

राष्ट्रिय विभूति शंखधर साख्वाःद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस सम्वतलाई प्रचलनमा ल्याएको सर्वविदितै छ ।

नेपाल संवत्को शुरुवात वि.सं. ९३६ र ई.सं. ८७९ अक्टोवर २० तारिख विहीवारका दिन भएको हो । त्यसैगरी नेपाल संवत्को शक संवत् ८०१ कार्तिक शुक्ल प्रतिपदा, लिच्छवि संवत् ८०२, बुद्ध संवत् १४२४ र मानदेव संवत् ३०४ मा भएको मानिन्छ ।

शंखधर साख्वाःले नेपाल मण्डलका राज्यबाट गरीबहरूले लिएको ऋण मोचन गरेको खुसीयालीमा नेपाल संवत् चलाइएको मानिन्छ । यस संवत्लाई कतै देश संवत्, कतै साख्वाः संवत् र कतै शंखधरकृत संवत् भनेर उल्लेख गरिएको पाइन्छ । इतिहासविद्हरूका अनुसार लिच्छवि संवत्लाई प्रतिस्थापन गर्दै नेपाल संवत् प्रचलनमा आएको हो । त्यसताका यस संवत््ले गति लिन नसकेर थोरै मात्र प्रयोगमा आएको बताइन्छ ।

लिच्छवि राजा आनन्ददेवले भक्तपुरमा र राघवदेवले कान्तिपुरमा राज्य गर्दा नेपाल संवत्को शुरुवात भएको भए तापनि मल्ल वंशले नेपाल मण्डलमा राज्य गर्न थालेपछि मात्र यसको प्रयोग व्यापक रुपमा भएको इतिहासविद्हरूको तर्क छ । त्यसैले नेपाल संवत् प्रयोगको दृष्टिले मल्लकाललाई स्वर्ण काल मानिन्छ । मल्लकालमा यो संवत् राजकीय रुपमै प्रयोग भएको थियो । लिच्छवि कालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म पुग्दा मौलिक संवत्का रुपमा चलेको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विक्रम संवत् प्रचलनमा ल्याएपछि भने यो संवत् ओझेलमा पर्न गयो । वि.सं. २०११ सालदेखि नेपाल संवत्ले मान्यता पाउनुपर्छ भनेर आन्दोलन शुरु भएपनि वि. सं. २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पालामा आएर नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको हो । तर अझै पनि नेपालमा नेपाल संवत्को बारेमा थाहा पाउनेको संख्या कमै छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको छ ।

नेपाल संवत्का विषयमा अहिले पनि अबुुझपनाका कारण विवाद बाँकी नै रहेको पाइन्छ । कतिले संवत्जस्तो कुरा साधारण व्यक्तिले चलाउन सक्दैन वा उसको नाममा संवत् कायम हुन सक्दैन पनि भनेका छन् । कतिले शंखधर साख्वाः भन्ने व्यक्ति नै छैनन् भनेका छन् । हातमा शंख बोकेकै भरमा शंखधर हुन नसक्ने बताउनेहरू पनि यहाँ कम छैनन् । कतिपयले तत्कालीन लिच्छवि राजा राघवदेवले चलाएको संवत् नै नेपाल संवत् हो भनेर मान्छन् ।

शंखधरसम्बन्धी निस्केका फोटो र परिचयले पनि वास्तविक शंखधरबारे धेरै अन्योल जन्माएको इतिहासविद्हरू बताउँछन् । कतै बौद्ध र कतै हिन्दू धर्मावलम्वी जस्तो देखाइएकोले पनि शंखधरबारे अन्योल सिर्जना हुने गरेको तर्क इतिहासविद् एवं संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउनुहुन्छ ।

विशेषतः शंखधरले बालुवालाई सुन बनाई जनताको ऋण तिरेको भन्ने कथा मनगढन्ते रहेको धेरैको दावी छ । उनीहरू यसको सत्यता नखोजिकन त्यसैलाई वैज्ञानिक आधार मान्नु गल्ती हुने बताउँछन् । वास्तवमा शंखधर साख्वाः चलाख व्यापारी थिए । किंवदन्तीअनुसार भक्तपुरको वंशगोपालका सिद्धिवन्त जोशीको ज्योतिषीले भक्तपुरका राजा आनन्ददेवलाई यो समयमा बालुवा निकालेमा सुन बन्छ भनेर भविष्यवाणी गरेका थिए । सोहीअनुरुप भक्तपुरका ज्यापुहरू बालुवा भरेर जाँदै गर्दा शंखधर साख्वाःले कुुटिलतापूर्वक ज्यापूहरूसँग कुरा बुुझी बालुवा छलपूर्वक परिवर्तन गरी सुन हुने बालुवा हातमा पारेका थिए भन्ने किंवदन्ती रहेको छ ।

विभिन्न अध्ययनहरूले सुनकोशी नदीमा सुन बहने र त्यसलाई प्रशोधन गरी सुन बनाउन सकिने सम्भावना देखाएको छ । लिच्छवि कालमा सुन प्रशोधन गर्ने प्रविधि भित्र्याई शंखधरले बालुुवामा मिसिएको सुन प्रशोधन गरेको हुनुपर्ने अनुमान पनि रहेको छ ।

अर्का इतिहासविद् भुवनलाल श्रेष्ठको एक लेखका अनुसार सुन वा सुनखानी भूगर्भभित्र अवस्थित चट्टानहरूमा अनेक रासायनिक क्रिया–प्रतिक्रिया भएर बनिने पदार्थ हो । प्राकृतिक प्रक्रियाले चट्टान चिरिएर वा चर्किएर अथवा नचिरिए पनि चट्टानभित्रै निस्केको विभिन्न रासायनिक पदार्थ धर्सोधर्सो भएर फैलिन्छ । त्यस्ता चट्टान वा धर्साधर्साभित्र फैलिएका विभिन्न रासायनिक तरल पदार्थ लाखौं वर्षका ताप र चापको प्रक्रियाबाट नै सुनखानी बन्ने हो । कर्णाली नदीका कतिपय सहायक नदीहरू आजसम्म बालुवामा सुन खोजिंदैछ र भेट्टाइँदै पनि छ । काठमाडांै उपत्यकाको पूर्वतिर हिमालयबाट बगेर आउने एउटा नदीको नाउँ नै “सुनकोशी” रहेको छ । त्यस्तै तामाकोशी र लिखु खोलाहरू छन् । दोलखामा सुनखानी भन्ने ठाउँ पनि छ, जहाँबाट उहिलेउहिले सुन झिकिन्थ्यो । बिनाकारण त्यस्तो नाउँ रहँदैन ।

नेपाल संवत् र शंखधरसँग सम्बन्धित भनिएको काठमाडौंको विष्णुमती लखु तीर्थ र तीर्थसँगै शंखधरले स्थापना गरेको भनिएको बौद्ध चैत्यको अध्ययन अनुसन्धान नहुनु, शंखधरको शालिक भनिएको पशुपति दक्षिण ढोकाभित्रको सालिकको कार्वन जाँच नहुनु र ऋणमोचन गर्दा हिसाब गरिएको भनिएको सिनामंगलस्थित शीलाको ऐतिहासिक व्याख्या नहुनुले नेपाल संवत् र शंखधरका बारेमा थप अन्योल बढाएको छ ।

अशुभ अंकका कारण नेपाल संवत्

नेपाल संवत् सुरु हुनुअघि लिच्छवि संवत् चलनचल्तीमा रहेको थियो । लिच्छवि शासकहरू आठ अंकलाई अशुभ मान्थे । त्यसैले ८०१ सम्म पुगेको संवत्लाई पुनः एकदेखि सुरु गर्ने क्रममा नेपाल संवत् सुरु भएको मान्नेहरू पनि छन् । तर नेपाल संवत् सुरु हुँदा लिच्छवि संवत् ८०१ नभई ८०२ भएको इतिहासविद्हरू बताउँछन् । उनीहरूले मान्ने लिच्छवि संवत् पनि आयातित संवत् नै थियो । विक्रम संवत् सूर्यमानअनुसार गणना हुन्छ भने लिच्छवि संवत् चन्द्रमान अनुसार गणना हुन्छ ।

इतिहासविद्हरू शंखधर साख्वाः र नेपाल संवत्बारे विस्तृत अध्ययन अनुसन्धानको आवश्यकतामा जोड दिंदै नेपाल संवत्लाई मौलिक संवत् भएकोले यसको प्रयोगमा राज्यले अग्रसरता लिनुपर्ने बताउँछन् । शंखधर साख्वाःलाई राष्ट्रिय विभूति र नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइसकेपछि त्यसैअनुसार राज्यले शंखधरबारे थप अध्ययन र अनुसन्धान गर्नुपर्ने र नेपाल संवत्लाई पनि व्यवहारमा प्रयोग गर्नुपर्ने उनीहरूको तर्क रहेको छ ।

शंखधरको पहिलो प्रतिचित्र

शंखधर साख्वाः नेपाल संवत्को प्रणेता र संस्थापकको रुपमा प्रख्यात भए तापनि शंखधर कस्तो देखिन्थ्यो भन्ने चाहीं थाह हुन सकेको छैन । शंखधरको शिलामूर्ति पशुपतिनाथको दक्षिण ढोकाको उन्मुक्त भैरवको बाहिरी परिसरमा छ भन्ने प्रचार भएको कारण उत्सुकहरू पशुपति दर्शन गर्न जाँदा उक्त मूर्ति हेर्न पनि गए । यसैबीच थिमीको ल्याय्म्ह पुचःले शंखधर साख्वाःको प्रतिचित्र राखेर क्यालेण्डर प्रकाशन गरेर सराहनीय काम गर्‍यो । नेपाल संवत््को क्यालेण्डर योभन्दा पहिला पनि प्रकाशन हुन्थ्यो तर शंखधर साख्वाःको प्रतिचित्र राखी प्रकाशन गरिएको यो नै पहिलो थियो । यो प्रतिचित्र तयार गर्न कलाकार वत्सगोपाल वैद्यले पशुपतिमा गई अध्ययन गरेर मात्र तयार गरेको स्मरणीय छ । अहिले शंखधरको सो शिलामूर्ति पशुपतिमा अरु प्रतिमाहरूको पहिलो पंक्तिमा राखिएको छ।

लखु फल्चा

काठमाडौंको मरुटोलबाट छ्वासपाः भएर रामघाटतिर जाने बाटो छेउ एउटा दबुजस्तो ठाउँ छ । यो ठाउँमा पहिले पाटी थियो । जसलाई लखु फल्चा भनिन्छ । भक्तपुरका राजाले सुवर्ण मुहूर्तमा लखुतीर्थमा लिन पठाएको सुन हुने बालुवा भरियाहरूले यही पाटीमा बिसाएका थिए र सोही स्थानमा भरियाहरूलाई फकाई शंखधर साख्वाःले आफ्नो घर इलाछेंमा बालुवा ओसार्न लगाएको मानिन्छ । यस अर्थले त्यस पाटीको ऐतिहासिक महत्व देखिन्छ । पाटीको नाम लखु फल्चा भइराखेकोले पनि लुँकुको अपभ्रंश भई लखु भएको अनुमान गर्न सकिन्छ । नेपाल संवत् र शंखधरको नाम प्रचार हुनुअघि देखि यस पाटीको नाम लखु फल्चा भनिन्छ भनेर त्यहाँका बुढापाकाहरूको भनाइ छ।

  • राष्ट्रिय बिभूति शंखधर साख्वाःको सम्मान ने.सं. ११२० कछलाथ्व दशमी (वि. सं. २०५६ मंसिर २ गते) प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्बाट राष्ट्रिय बिभूति घोषणा ।
  • ने.सं. ११२० (वि.सं. २०५६) सालमा मध्यपुर थिमि नगरपालिकाबाट नयाँ थिमि चोकलाई शंखधर चोक नामाकरण गरी प्रतिमा निर्माण ।
  • ने.सं. ११२२ (वि. सं. २०५८) मा शंखधर चोकमा जनस्तरबाट शंखधर साख्वाःःको प्रतिमा स्थापना ।
  • ने.सं. ११२२ (वि. सं. २०५८) राष्ट्रिय बिभूति शंखधर साख्वाःको हुलाक टिकट प्रकाशन ।
  • ने.सं. ११२२ (वि. सं. २०५८) राष्ट्रिय बिभूति शंखधर साख्वाःको सिक्का प्रकाशन ।
  • ने.सं. ११२७ (वि. सं २०६४ असोज ३० गते) राष्ट्रिय बिभूति शंखधर साख्वाःको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसारको लागि प्रतिष्ठानमार्फत शंखधर साख्वाःसम्बन्धी वेबसाईट धधध।कजबलपजबमजबचकबपजधब।यचन।लउ को व्यवस्था ।
  • ने.सं. ११२८ (वि. सं. २०६४) को माल्यार्पणको अवसरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट आप्mनै लेटरप्याड तथा मन्त्रीपरिषद्को लेटरप्याडमा नेपाल संवत् उल्लेख गर्ने घोषणा ।
  • ने.सं. ११२९ (वि. सं. २०६५) मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट नेपाल संवत््लाई राष्ट्रिय संवत््को रुपमा घोषणा ।
  • ने.सं. ११३१ (वि.सं.२०६७) देखि राष्ट्रिय बिभूति शंखधर साख्वाःको बारेमा जानकारी पाठ्यक्रममा समावेश ।
  • ने.सं. ११३२ (वि.सं.२०६८) प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा नेपाल संवत्को अध्ययन गर्न कार्यदल गठन ।
  • ने.सं. ११३२ (वि.सं. २०६८) कार्तिकमा नेपाल राष्ट्र र नेपालीको मौलिक सम्बत्लाई नेपाल सरकारको व्यवहारिक प्रयोगमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरी आएका पदमरत्न तुलाधर, मल्ल के सुन्दर र ल्यायम्ह पुचः थिमिलाई सम्मान ।
  • ने.सं. ११३३ मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा नेपाल संवत््को पहिलोे दिन अर्थात तिहारको म्हः पूजाको दिनलाई सार्वजनिक विदाको दिनको घोषणा । Source: newsofnepal.com

Leave a Reply