चर्चित बाइक राइडर थापा बने चारतारे होटल शाराको ब्रान्ड एम्बेस्डर

0

पोखराको लेकसाइड चारतारे होटल शाराले नेपालका चर्चित बाइक स्टन्ट राइडर विविद जंग थापालाई ब्रान्ड एम्बेस्डर चयन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि थलिएको पर्यटन ब्यवसायको राइडरमार्फत विभिन्न क्षेत्रमा पुगेर पोखराको पर्यटनको सन्देश फैलाउन होटलले थापालाई एम्बेस्डर तोकेको हो ।

यस सम्बन्धी सम्झौता पत्रमा होटलका सञ्चालक चक्र सुबेदी र राइडर थापाले आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्। सन् २०२० मा अत्याधुनिक प्रविधिमा बनेको होटलले आफ्नो ब्यवसायसँगै पर्यटन प्रबन्धनका लागि गरेको प्रस्तावलाई स्वीकार गदैं ब्रान्ड एम्बेस्डर बनेको राइडर थापाले बताए ।

‘यो सहकार्यले सम्रग पर्यटन क्षेत्रलाई नै फलदायी र प्रभावकारी हुने अपेक्षा गरेको छु,‘पोखराको पर्यटन क्षेत्रसँग ब्यवसायीक रुपमै रमाउने अवसर पाएको छु’ थापाले भने ।  सम्झौता अवधिभर होटलको सुविधाहरु तथा ब्रान्ड प्रवदर्द्धनका क्रियाकलापमा सहभागी हुने तथा विभिन्न क्षेत्रका घुम्न जादाँ समेत पोखराका बारेमा त्यहाँ जानकारी सहितका अभियान सञ्चालन गरिने छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीका थापा अनौठो किसिमको ’राइडिङ स्किल’ का कारण नेपालसँगै छिमेकी राष्ट्र भारतको विभिन्न क्षेत्रमा चर्चित छन् । अफरोड ट्र्याकमा जोखिम मोल्दै नयाँ र फरक शैलीकै कारण उनी यूटुवमा समेत चर्चित छन् ।

आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरि असीमित रोमाञ्चक अनुभव बटुलेका थापाले पल्सर डेयर भेन्चर सिजन–३ मा सेकेन्ड रनर अप भएसँगै उनको लोकप्रियता चुलिएको थियो । नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी पल्सर डेयर भेन्चरमा निकै उत्कृष्ट प्रर्दशन गरेका थापाले रेशमाण्डू, क्रसमाण्डू लगाएतका एक दर्जन बढी प्रतियोगितामा समेत सहभागिता जनाएका छन् ।

अपाचे बाइक राइडरहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिलाई आधार मानेर थापाले भारतमा समेत आफ्नो प्रतिभा देखाएका छन्।

नेपालका स्टन्ट राइडरहरूलाई टीभीएस मोटरसाईकल कम्पनीले चेन्नाईको मद्राससम्म मोटर रेस ट्रयाकमा आयोजना गरेको अपाचे रेस ट्रयाक एक्सपेरियन्समा समेत थापाले नेपाली टोलीबाट सहभागिता जनाएका थिए । थापा अहिले नेपाल र भारतका विभिन्न क्षेत्रमा समुहमै पुगेर प्रतियोगिता सहितका कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् ।

Leave a Reply