म्याग्दी प्रवासी नेपाली संघ  (मोना) जापान र बिम समाज जापानको संयुक्त पहलमा कोभिड-१९ पीडित ज्ञान पुनलाई आर्थिक सहयोग गरिएको छ । जापानको चिवा चुचिउरा दाइकितामा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिकाका-५ रुमका पुनलाई ५ लाख २१ हजार २ सय सहयोग गरिएको हो ।

कुकको रूपमा काम गर्दै आएको पुन २ महिनादेखि कोभिड सङ्क्रमण भएर फोक्सो झन्डै ९५ प्रतिशत जलिसकेको अवस्थामा अस्पताल भर्ना भएका थिए । उपचार निकै खर्चिलो भएपछि पुनकी श्रीमती थानदेवी पुनले मोना जापान समक्ष सहयोगको याचना गरेकी थिइन् । यही अवस्थालाई मध्यनजर गर्दै आर्थिक भारलाई केही हदसम्म सहायता मिलोस् भन्ने उद्देश्यलेका साथ मोना जापानले आर्थिक सहयोग सङ्कलन अभियान चलाएको थियो ।

उक्त अभियानको संयोजक मोना जापानका उपाध्यक्ष हेम जुग्जाली मगर, उप संयोजक कोषाध्यक्ष ज्ञानेन्द्र कार्की थिए । अभियान मोना जापान र बिम समाज जापानको संयुक्त पहलमा चलाइएको हो । संकलित रकम ५ लाख २१ हजार २ सय येन पुनकी श्रीमती तानदेवीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष सचिन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विशाल केसी र अभियान संयोजक संघका उपाध्यक्ष तथा बिम समाज जापानका अध्यक्ष हेम जुग्जालीको उपस्थिति थियो ।

अभियानमा सहयोग गर्ने जापानवासी सम्पूर्ण म्याग्देली, गैर म्याग्देलीहरुमा मोना जापान र बिम समाज जापान आभार व्यक्त गरेको छ । अहिले बिरामीको टोकियो उमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार बिरामीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । ***

Leave a Reply