पत्रकार महासंघ गोरखाकाे भवन बनाउन खत्रीले दिए जग्गा दान

0

नेपाल पत्रकार महास‌ंघ गोरखा शाखाले आफ्नाे कार्यालय भवन बनाउन जग्गा प्राप्त गरेकाे छ । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित नगरपालिका कार्यालय जाने राेडमा पर्ने समिचाैतारा आसपासमा महासंघले जग्गा पाएकाे हाे ।

महासंघलाई साेही वडाकाे रानीवन घर भएका सम्वु खत्रीले जग्गा उपलब्ध गराएकाे अध्यक्ष नरहरि सापकाेटाले बताए । महासंघले प्रापत गरेकाे ३ आना मध्ये २ आना खत्रीले दान र १ आना खरिद गरिएकाे अध्यक्ष सापकाेटाकाे भनाई छ । जग्गा साेमबार खत्रीले महासंघकाे नाममा मानसारी गरि दिएका हुन ।

पूर्व प्रहरी समेत रहेका खत्रीले आफ्ना स्वर्गिय बुवा आमा तिलक बहादुर खत्री र सान्नानी खत्रीकाे स्मृतीमा जग्गा उपलब्ध गराएकाे बताएका छन् । ‘मैले सम्पत्ती धेरै भएर पत्रकार महासंघलाई जग्गा दिएकाे हाेइन’ खत्रीले भने ‘समाजसेवासंगै बुवाआमा र आफ्नाे समेत इतिहासका लागि थाेरै भएपनि जगगा दिएकाे छु, यसलाई बचाएर सदुपयाेग गर्नुहाेला ।’

प्रहरी जागिरबाट अवकासपछि कृषि पेशामा आवद्ध रहेका खत्रीका एक श्रीमती र २ छाेरा छन् । जग्गा खाेजीका लागि गोरखा नगरपालिका ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्री, नापी कार्यालय गोरखाका प्रमुख अमृत पाण्डे लगायतले समन्वय गरेका थिए ।

यता पत्रकार महासंघले जग्गा प्राप्त गरेपछि अब छिट्टै भवन निर्माणकाे काम सुरु गरिने काेषाध्यक्ष माेहसिन अलि मियाँले बताए । हालसम्म गोरखा नगरपालिकाले निशुल्क उपलब्ध गराएकाे भवनबाट कार्यालय सञ्चालन गरिरहेकाे महासंघले केहि दिन भित्रै भवन निर्माणकाे शिलन्यास गर्ने बताएकाे छ । महासंघकाे भवन निर्माणका लागि यस बर्ष गण्डकी प्रदेश सरकारले दश लाख रुपैया विनियाेजन गरेकाे र अन्य स्राेतकाे समेत खाेजी भइरहेकाे काेषाध्यक्ष मियाँले बताए ।

Leave a Reply