म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताब सभाका सदस्यहरुले छलफल पछि पारित भएको थियो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।

महालेखा परिक्षकको कार्यालयको निर्देशन अनुसार गाउँपालिकाले योजना कार्यान्वयनका लागि गठन हुने उपभोक्ता समितिलाई पनि दर्ता गरेर सम्झौताको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो । ‘उपभोक्ता समितिलाई जवाफदेही र जिम्मेवार बनाउन दर्ता गर्न लागिएको छ,‘अब दर्ता भएकाबाट मात्रै पालिकाले काम गर्छ’ शर्माले भन्नु्भयो ।

गाउँसभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बाडफाँट गर्न बाँकी रु. तीन करोड ७० लाख बजेट चालु आर्थिक बर्षका लागि ५५ वटा योजना तथा कार्यक्रममा बिनियोजन गरेको छ । यसअघि गत असारमा भएको बाहै गाउँसभाले सामाजिक सुरक्षा भत्ता सहित चालु आर्थिक बर्षका लागि रु. ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको थियो । उपाध्यक्ष रेशम छन्त्यालले क्रमागत अधुरा योजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको बताउनुभयो ।

‘प्राथमिकतामा परेका योजनाहरुमा बजेट दिएका छौ,‘समयमै सम्पन्न गर्ने गरी काम हुन्छ’ उपाध्यक्ष छन्त्यालले भन्नुभयो । लुलाङको वडा कार्यालय भवनलाई पूर्णता दिन रु. ४० लाख र ताकमको वडा कार्यालय भवनलाई पुर्णता दिन थप रु. १६ लाख बिनियोजन भएको छ । वडा अध्यक्षले सिफारिस गर्ने योजनाका लागि सात वटै वडामा रु. दश÷दश लाखका दरले बिनियोजन भएको छ ।

संघीय र प्रदेश सरकारको खातामा फिर्ता गर्नुपर्ने रु. ३५ लाख बजेट पनि सभाले बिनियोजन गरेको छ । पालिकाको लेखा समितिको बैठक बस्न नसक्दा कार्यसूचीमा राखिएको बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब सभामा पेश हुन भने सकेको छैन् । लेखा समितिको संयोजकमा प्रस्ताब गरिएका वडा नम्बर १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल र वडा नम्बर ५ की अध्यक्ष खर्ककुमारी छन्त्यालले बजेट विनियोजनमा देखिएको असमानका कारण जिम्मेबारी लिन नसक्ने भन्दै फरक मत राख्नुभएको छ ।

Leave a Reply