म्याग्देली चेली अरुणा शाहीको कप्तानीमा रहेको डिफेन्डिङ च्याम्पियन नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा लगातार तेस्रो जित निकालेको छ ।

बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५–५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटमा भने बंगलादेशले सुधारिएको खेल खेल्यो ।

यद्यपि नेपालले त्यसपछि बंगलादेशलाई २५–१५, २५–१७ ले हराउँदै खेल सहजै जितेको हो । तीन जितपछि नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो।तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ ।नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीको नेतृत्वमा नयाँ र अनुभवी १२ सदस्यीय टोली रहेको छ । २० बर्षपछि अन्तराष्ट्रियस्तरमा महिला भलिबलको उपाधी जितेको नेपालले यसपटक पनि आफ्नो बलियो खेल प्रर्दशन गरिरहेको छ । नेपाली टिमकी कप्तान शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिईन् ।

 

Leave a Reply