राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

सडकको मुस्ताङखण्डमा अपेक्षाअनुसार काम भए पनि म्याग्दीखण्डमा भने सुस्त छ । निर्माण कम्पनीको ढिलासुस्ती र भौगोलिक कठिनाइका कारण म्याग्दीखण्डको निर्माणले गति लिन नसकेको जनाइएको छ ।

बेनी–जोमसोम हुँदै चीनको सिमाना कोरला नाकासम्मको दुई सय किलोमिटर सडकको निर्माण २०७३ मङ्सिर २१ गते थालिएको थियो । सो सडक निर्माण गर्न सात अर्ब २७ करोड रुपियाँ लागतमा १३ वटा प्याकेज बनाई ठेक्का लगाइएको थियो । जोमसोमदेखि कोरलासम्मका सात प्याकेजमध्ये छवटाको सडक स्तरोन्नतिसहित ग्राभेल हाल्ने कार्य सम्पन्न भइसकेको छ । जोमसोमदेखि माथि कोरलासम्मको सडक ग्राभेलमात्र ठेक्का लागेको हो ।

जोमसोमदेखि कोरलासम्म ११० किलोमिटरमध्ये चराङदेखि छोसेरसम्मको २५ किलोमिटर सडकमा ६५ प्रतिशत भौतिक प्रगति भएको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए। सो खण्डको ठेक्का तामाङ गौरी पार्वती कोसी एन्ड न्यौपाने जेभीले प्राप्त गरेको छ । २०७५ भदौ १३ मा सम्पन्न गर्नेगरी २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले निर्माणलाई सन्तोषजनक रूपमा अगाडि नबढाएकाले पेस्की लगेको रकमबाट एक करोड नौ लाख रुपियाँ आयोजनाले फिर्ता लिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

यो खण्डमा अझै नौ करोड रुपियाँबराबरको काम बाँकी रहेको र निर्माण कम्पनीलाई काम गर्न ताकेता गरिएको उनले बताए । करिडोरको म्याग्दीखण्डबाहेक मुस्ताङखण्डमा अहिलेसम्म २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । मुस्ताङको कैकुखोलादेखि खन्तीसम्मको सडकको ८० प्रतिशत भौतिक प्रगति भएको आजको गोरखापत्र दैनिकमा खवर छ।

Leave a Reply