हिमाली जिल्ला म्याग्दीमा आज (आइतबार)देखि किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु भएको छ । किशोरीहरुमा हुने रक्तअल्पता न्युनीकरण गर्नका लागि विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन थालिएको हो ।

नेपाल सरकारको स्वास्थ्य सेवाअन्तर्गत वार्षिक तथा नियमित कार्यक्रम भएकाले आइतबारदेखि जिल्लामा किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले बताउनुभयो ।

विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । किशोरीहरुलाई १३ हप्तासम्म आइरन चक्की खुवाउने र १३ हप्ता रोक्ने तथा पुनः १३ हप्ता खुवाउने र फेरी १३ हप्ता रोक्ने गरी कार्यक्रम सञ्चालन भैरहेको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यसअघि समीक्षा कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

बेनी नगरपालिकाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा विद्यालय पोषण कार्यक्रमअनुसार किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुका साथै जानकारी गराइएको थियो । बेनी नगरपालिकासहित जिल्लाको छ वटै स्थानीय तहका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत तथा विद्यालयभन्दा बाहिर रहेका १० देखि १९ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई आइरन चक्की खुवाउन कार्यक्रम सञ्चालन भएको जनाइएको छ ।

एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत गएको साउन–भदौ र असोज तथा दोस्रो चरणको माघ–फागुन र चैत गरी दुई चरणमा २६ हप्तासम्म आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । सो कार्यक्रमअन्तर्गत जिल्लामा माघ महिनादेखि दोस्रो चरणको आइरन चक्की खुवाउन लागिएको हो । विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आजदेखि दोस्रो चरणको आइरन चक्की खुवाउन सुरु गरिएको जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले बताउनुभयो।

विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोर अवस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्छ । मानव शरिरमा हुने राता रक्तकोशिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ ।

आइरन तथा पोसिलो खानाको कमी, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामै गर्भवती हुँदा रक्तअल्पता हुन्छ।रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।

Leave a Reply