जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई प्रमाणपत्र दिएका हुन् ।

विसं २०२९ सालमा जन्मिएका गर्बुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नागरिकता वितरण गरेको प्रजिअ रानाको बताए । ‘ओछ्यानमै पल्टिएको करिब पाँचदशक पुग्न लागेको रहेछ,‘जनप्रतिनिधिको अनुरोधमा घरमै पुगेर सेवा दिइयो’ प्रजिअ रानाले भने ।

नागरिकताको प्रमाणपत्र नहुदाँ सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित भएपछि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले पहल गरेकी थिईन् । विगतमा गाउँमा पुग्दा नागरिकताको गुनासो बारेमा स्थानीय जनप्रतिनिधिले समेत जानकारी गराएपछि नागरिकता बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेको उपाध्यक्ष मगरको भनाई थियो ।

‘क’ बर्गको अपाङ्गता परिचयपत्र बनाए पनि जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा बन्चित भएको अवस्थामा घरमै आएर नागरिकता दिदाँ सपना जस्तै लागेको सुकलालका बुबा जगबहादुर पुनले बताए । नागरिकता नहुँदा छोरा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकोमा जगबहादुरले बताए ।

यसैबीच यसबर्ष घुम्ती शिविरको कार्यक्रम नभएकाले जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई शारीरिक रुपमा अशक्तलाई घरमै पुगेर नागरिकता दिन सकिने जानकारी समेत प्रजिअ रानाले प्रतिबद्धता जनाए ।

पूर्णरुपमा अशक्त भएका नागरिकलाई घरदैलोमा पुगेर नागरिकता दिने आफ्नो योजना रहेको समेत प्रजिअ रानाको भनाई थियो । अपाङ्गता भएकी छोरालाई घरमै सिडिओ सहितको टोली आएर नागरिकता प्रदान गरेको भन्दै स्थानीयबासीले समेत धन्यवाद दिदैं टोलीलाई विदाई गरेका थिए । नागरिकता वितरण कार्यक्रममा वडा अध्यक्ष गमबहादुर फगामी, वडा सदस्य टिका घताने लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply