म्याग्दीमा छुटेकालाई अनिवार्य खोप अभियानमा जोडिन स्वास्थ्य कार्यालयले अपिल गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले आयोजना गरेको बैठकले खोप सहित अन्य मापदण्डलाई पालना गर्न अपिल गरेपछि स्थानीय तह समेत सक्रिय भएका छन् ।

नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाएकालाई पनि संक्रमण हुनसक्ने भएता पनि संक्रमण भएपछिको शिकिस्त बिरामी हुने तथा मृत्यु हुने सम्भावनालाई खोपले अत्याधिक रुपमा घटाएको पाईएकाले छुटेकालाई खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयमा प्रमुख एकनारायण लम्सालले बताए ।

जिल्लाभित्र अहिले ९ हजार डोज कोभिशिल्ड, ५ हजार डोज भेरोसिल र २ हजार डोज जान्सन खोप मौज्दात रहेकाले माग अनुसार दिन सकिने प्रमुख लम्सालको भनाई छ । यसै सन्र्दभमा बेनी साप्ताहिकले कोरोना खोपको पहुँच लगायत विविध विषयमा लम्सालसँग छोटो कुराकानी गरेको छ ।

म्याग्दीमा कतिजनाले कोरोनाको खोप लगाए ?
म्याग्दी जिल्लामा अहिले सम्म १८ वर्ष माथिका ६८६४३ जनाले पहिलो मात्रा र ५८५२३ जनाले पूर्ण मात्रा कोभिड १९ विरुद्वको खोप लगाउनु भएको छ । यसै गरी ११२७८ जना १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुले पहिलो मात्रा खोप लगाउनु भएको छ र उहाहरुलाई माघ १५ गते भित्रमा दोस्रो मात्रा खोप दिने योजना रहेको छ।

कोरोनाको खोप लगाउनेमा कुन उमेर समुहका कति छन् ?
नेपाल सरकारले तोकेको लक्षित समुह र उमेर समुह अनुसार म्याग्दीमा पनि खोप कार्यक्रम सम्पन्न भईरहेको छ । अहिले सरकारले खोपको उपलब्धताको आधारमा १८ वर्ष माथिको उमेर समुहमा पूर्ण खोप लगाउने नीति लिएको छ र हामीलाई दिएको अनुमानित लक्षको तुलनामा १८ वर्ष माथिका ९४।१ प्रतिशत नागरिकहरुले पहिलो मात्रा र ८०।२ प्रतिशत नागरिकहरुले पूर्णखोप प्राप्त गर्नु भएको छ । यध्यपि खोप कार्यक्रम निरन्तर संचालनमै रहेकोले यो प्रतिशत क्रमश बढदै जाने छ । १२ देखि १७ वर्ष उमेर समुहका ९० प्रतिशत नागरिकहरुले खोपको पहिलो मात्रा लगाउनु भएको छ । तथ्याँक हेर्दा सबै उमेर समुहका नागरिकहरुको खोप कार्यक्रममा उल्लासपूर्ण सहभागिता देखिएको छ ।

म्याग्दीका कुन स्थानीय तहले कति जनामा कोरोना खोपको पहुँच पुर्याउन सफल भए त ?
अहिले सम्म प्राप्त प्रतिवेदनलाई हेर्दा अन्नपूर्ण गाउँपालिकामा पहिलो मात्रा ८४६० र पूर्ण मात्रा ८१७६ जनाले लगाउनु भएको छ। यसै गरी रघुगंगा गाउँपालिका ९६३६ र ६०९९ जना, धवलागिरी गाउँपालिका ७७६२ र ६८७५जना, मालिका गाउँपालिका १०१३५ र ९३०४जना, मंगला गाउँपालिका ८५५४ र ७८१४ तथा बेनी नगरपालिकामा २४०९६ र २०२५५ जनाले क्रमश पहिलो र पूर्ण मात्रा खोप लगाउनु भएको छ ।

यो तथ्याँकलाई प्रतिशतमा हेर्दा अन्नपूर्ण गाउँपालिकाको कभरेज पनि राम्रो(९८.३% पहिलो मात्रा र ९५% पूर्ण मात्रा) र पहिलो मात्रा र दोस्रो मात्रा लगाउनेको छुट दर पनि कम रहेको देखिन्छ ।बेनी नगरपालिकामा पहिलो मात्रा लगाउनेको कभरेज १०५%भएता पनि पूर्ण मात्रा लगाउनेको संख्या ८८.५% रहेको छ। पहिलो मात्राको अनुपातमा दोस्रोमा मात्रा लगाउनेहरुको कभरेज रघुगंगा गाउँपालिका अलि कम देखिएको छ र छुट भएका व्यक्तिहरुलाई खोजेर खोप लगाउने सम्बन्धमा सबै स्थानीयतहहरु क्रियाशील हुनुहुन्छ ।

हालसम्म कोरोनाको खोपबाट बन्चित हुनेको अनुमानित संख्या कति छ ?
पहिलो मात्रा लगाएकाहरुमा लगभग १० हजार जनाले दोस्रो मात्रा वा पूर्णखोप लगाउन छुटेको देखिन्छ ।अब हामीलाई प्राप्त अनुमानित लक्षलाई आधार मान्दा लगभग ४ हजार जना जति पहिलो मात्रा लगाउन छुटेको देखिन्छ। वास्तविक रुपमा खोप लगाउन कति जना छुट्नु भएको छ त भनेर जान्न त घरघरमा गएर खोजी गर्नुको विकल्प छैन ।

खोपबाट बन्चित हुनुमा सरोकारवाला निकायको कमजोरी पनि देखिन्छ त ?
कोभिड १९ महामारीको यो विषम परिस्थितिमा यसको रोकथाम र नियन्त्रणमा सबै पक्ष निकाय समुदाय परिवार र व्यक्तिको समेत महत्वपूर्ण भुमिका रहन्छ । म्याग्दीमा सबै सरोकारवाला निकायहरु क्रियाशील नै हुनुहुन्छ । कसैले खोप कार्यक्रमको बारेमा थाहा नपाएर छुट्नु भएकोले होला, कोही म खोप लाउदिन खोप लगाएपनि कोरोना हुदोरैछ क्यारे भनेर नलगाउनु भएको होला, कोही आफ्नो अन्य कामलाई प्राथमिकतामा राखेर पहिले यो काम गरि हालौ खोप पछि लगाउला भनेर नलगाउने गर्नु भएका व्यक्तिहरु पनि भेटिनु हुन्छ ।

कोही म यही नै खोप आएसी लगाउछु भनेर बस्नु भएको नि भेटियो । यो कोरोना भन्ने नी हावा कुरा हो खोप पनि हावा कुराहो त्यही भएर मैले र मेरो परिवारले खोप लगाएनौ भन्ने व्यक्तिहरु पनि हुनुहुन्छ समुदायमा । त्यस कारण हरेक व्यक्तिको आफ्नो मन हुन्छ, आफ्नो ईच्छा हुन्छ,हामीले बैज्ञानीक रुपमा पुष्टि भएका कुराहरुको बारेमा जानाकारी गराउने हो यसमा कोही सहमत हुनुभएन भने के गर्ने र। यसमा कसैको कमजोरी भन्दा नि बुझाई र त्यो विषय प्रति उहाँको धारणाले काम गर्ने कुरा हो। हामी अझै पनि नियमित रुपमै खोप कार्यक्रम संचालन गरिरहेका छौ, कोही छुट्नु भएको छ भने आफ्नो नजीकैको स्वास्थ्य संस्थामा सम्पर्क राखी खोप लिन सक्नु हुन्छ।

अन्धविश्वास, विभिन्न भ्रम तथा पहुँचको अभावका कारण खोपबाट बन्चित हुनेहरु पनि छन्, अब कसरी समेट्नुहुन्छ?
अन्धविश्वास र भ्रमहरुलाई हामी सबै मिलेर चिर्ने नै हो । यसमा हजुरहरु जस्ता संचारकर्मी र संचार माध्यामहरुको पनि सहयोग आवश्यक हुन्छ । जहाँ सम्म पहुँचको कुरा छ, म्याग्दी सबै वडाहरुका स्वास्थ्य संस्थाहरु र खोप केन्द्र सम्म खोप पुगेको छ, त्यो खोप केन्द्र सम्म आएर खोप लिईदिनु हुन म सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु ।

खोपलाई सुरक्षित राख्न कोल्डचेन व्यवस्थापन गर्नु पर्ने भएकोले तोकिएको खोप कार्यक्रम कै दिनमा खोप लगाईदिनु पर्ने हुन्छ। म आज जान्न पर्सि तिर जानु पर्ला भन्नु भो भने खोप नपाउन पनि सकिन्छ खोप सुरक्षित राख्नु पर्ने हाम्रो बाध्यताका कारण हरेक व्यक्तिले चाहेको दिनमा खोप सेवा दिन हाम्रो जस्तो भुगोलमा अलि कठीन चाही छ ।

पहिलो खोप लागएर दोस्रो खोप लगाउन आनकानी गर्नुको कारण के होला? दोस्रो खोप बाध्यकारी बनाउन सकिने अवस्था छ कि छैन् ?
कसैलाई खोप लगाईसकेपछि हल्का प्रति असरहरु देखिन सक्छन ती प्रति असरका कारण पनि कोही दोस्रो मात्रा खोप लिन नआउन सक्नु हुन्छ । कसैले एउटा लगाईहाले यति भएसी पुग्छ होला भन्ठानेर र नि होला । सक्रिय जनसंख्यालाई खोप दिउका छौ हामी उहाँहरु काम विशेषले पहिलो मात्रा यहाँ लिएर अर्को मात्रा बाहिर कतै गएर लिएको नि हुन सक्नु हुन्छ । नेपाल सरकारले मिति २०७८ माघ ७ गते देखि सबै सार्वजनिक स्थलहरु प्रवेश गर्न र सार्वजनिक सेवा लिन जादाँ खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिसकेको र हामीले डिसिएमसीको बैठकबाट पनि म्याग्दीमा यो व्यवस्था लागु गर्ने निर्णय गरिसकेका छौ। यो व्यवस्थाले केही हद सम्म खोपको उपयोग बढाउछ होला ।

Leave a Reply