म्याग्दीको बाबियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ । २०७७ कौ शैक्षिक सत्रदेखि स्थानीय भृकुटी सनराइज बोर्डिङलाई समायोजन गरेको मंगलाले अपनाएको अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने र बालमैत्री शिक्षण बिधीले बिद्यार्थीको आकर्षण बढाएको हो । दुवै विद्यालय मंगला गाउपालिका–२ बाबियाचौरका हुन् ।

बिद्यालयका प्रअ गमबहादुर खत्रीले आधारभूत तहमा नयाँ भर्ना हुने बिद्यार्थीको संख्या बढेको बताउनुभयो । “गत शैक्षिक सत्रमा १–५ तहमा २४ जना बिद्यार्थी थिए,” उहाँले भन्नुभयो “यस वर्ष कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने बिद्यार्थी संख्या २४० जना पुगेको छ ।” गत वर्ष ३९५ जना कुल बिद्यार्थी संख्या रहेको मंगलामा यस वर्ष ६०० जना पुगेका छन् ।

भृकुटीका १२६ जना विद्यार्थीहरुलाई २०७६ को शैक्षिक सत्रको वार्षिक परिक्षा समेत मंगला माविबाट दिने गरि समायोजन गरिएको थियो । अभिभावकको माग अनुसार कक्षा १ देखि ७ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयलेनै निजीको भन्दा राम्रो शिक्षा दिने वातावरण बनेपछि विद्यार्थी ल्याउन अभिभावकले साथ दिएका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारीले बताउनुभयो । निजी विद्यालयको आकर्षणका कारण अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको अवस्थामा मंगला माविको प्रयासले सामुदायिक विद्यालयप्रति विश्वास बढाउन सहयोग मिलेको छ ।

पूर्व प्राथमिक देखि कक्षा १२ सम्मको पठनपाठन हुने मंगलाले शैक्षिक सत्र २०७६ देखि बालविज्ञान सम्बन्धी प्राबिधिक विषयको पठनपाठन सुरु गरेको थियो । यस वर्षदेखि बाल बिज्ञानको कक्षा ११ को पठनपाठन सुरु छ । बाली बिज्ञानको सबै बिषय अंगेंजी माध्यमबाट पढाउने गरिएको छ ।

शिक्षा मन्त्रालयले २०७६ देखिनै नमुना विद्यालयको कार्यक्रम समेत लागू गरेको छ । शिक्षा मन्त्रालयले गाउँपालिका मार्फत उपलब्ध गराएको अनुदान र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको सहयोगमा दुई वटा भवन निर्माणाधिन छन् ।

प्राधिकरणको सहयोगमा ४ कोठे र शिक्षा मन्त्रालय मार्फत आठ कोठे भवन निर्माण भइरहेको छ । प्राधिकरणको सहयोगमा यसअघि चार कोठे भवन निर्माण भइसकेको छ ।

शिक्षा मन्त्रालयले पठाएको बजेटमा ठेक्का प्रक्रियामा बचेको रु. ४२ लाख बाट थप चार कोठे भवन निर्माणको तयारी भएको बिद्यालयका शिक्षक हुमनाथ पाण्डेले बताउनुभयो । ३८ जना शिक्षक कर्मचारी रहेको मंगलामा निजी सोतका १३ जना शिक्षक छन् । भवन अभावका कारण १३ वटा कोठा भाडामा लिएर पठनपाठन सञ्चालन गरेको बिद्यालयले जनाएको छ ।

Leave a Reply