कोरोना भाइरसको तेस्रो लहरबाट जोगिन म्याग्दीका तातोपानी कुण्डमा स्नानका लागि बन्द गरिएको छ । प्राकृतिक चिकित्सालयको रुपमा परिचित बेनी नगरपालिका–४ को सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले नियमित स्नान गर्ने बाहेक नयाँ बिरामीलाई टिकट बिक्री बन्द गरेको जनाएको छ ।

कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार नयाँ बिरामीलाई टिकट बिक्री बन्द गरी स्नान गरिरहेका बिरामीलाई मात्रै ब्यवस्थापन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

‘स्नान गरिरहेकालाई तोकिएको दिन पुरा गरेपछि अर्को सूचना जारी नहुदाँसम्म बन्द हुन्छ,‘महामारीले टाढाबाट स्नान गर्न आउनेलाई समस्या भएको छ’ अध्यक्ष शाक्यले भन्नुभयो । कोरोनाको त्रास भएपनि कुण्डमा स्नानका लागि आउने बिरामीहरुको संख्यामा भने कमी नभएपनि जिल्लाको निर्णयले बन्द गरिएको जनाएको छ ।

मंसिर देखि बैशाख महिना कुण्डमा स्नानको मुख्य सिजन हो । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।

वीरेनुन र गन्धन (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ ।

यसैबीच जिल्लाको अन्नपूर्ण गाउपालिकाको पाउद्धार, भुरुङ तातोपानी, पोखरेबगरको रातोपानीमा समेत बाहिरी जिल्लाबाट आएकालाई स्नानमा रोक लगाइएको छ। जिल्लाको दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजाको कुण्डमा समेत कुण्ड छ भने धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड यो समयमा हि हिमपातले स्नानका लागि सहज छैन् ।

 

Leave a Reply