म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको बगरफाँटका बासिन्दा प्राकृतिको नाकाबन्दीमा परेका छन् । बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारीसाधनमार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दूरीको घुमाउँरो सडक प्रयोग गर्न बाध्य भएका छन् । कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा १०० मिटर सडक कटान गरेर बगाएपछि बेनीबाट बगरफाँट जोड्ने सडक आठ महिनादेखि अवरुद्ध छ ।

पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुनःनिर्माण भएको छैन । यसअघि पनि वर्षेनी हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो । तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाको–२ र ३ नं वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा छ । मानिस झोलुङ्गे पुलबाट आवतजावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताए ।File photo

“बेनीबाट बगरफाँट सामान ढुवानी गर्नका लागि मल्लाज–बाँसखर्क हुँदै आठ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महङ्गो भाडा तिर्न बाध्य छन्”, उनले भने, “निर्माणाधीन निजी घर र सामुदायिक विकास आयोजनाको लागत बढेको छ ।” एक बोरा सामान पुल तारेको भरियालाई रु १०० भन्दा बढी तिर्नुपर्छ । बिरामीलाई अस्पताल पु¥याउन डोको र स्टेचरमा बोक्नुपरेको स्थानीय खिम बरुवालले बताए । बगरफाँटमा बसोबास गर्ने अधिकांश म्याग्दीका विद्यार्थी, व्यवसायी, कर्मचारी र सर्वसाधारण छन् ।

प्राविधिक हिसाबले माटेपानीको भिरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलबाट बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रबि भण्डारीले बताए । “बगरफाँटको यातायात समस्या लिएर म आफैँ प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ”, उनले भने, “प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बागलुङका इञ्जीनियरको टोलीले शुक्रबार बेलिब्रिज निर्माणस्थलको सम्भाव्यता अध्ययन गरेका छन् ।”

डिभिजन प्रमुख बलिराज मल्ल, इञ्जीनियर विजय शर्मालगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेका थिए । निर्माणस्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता, प्राविधिकरूपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने डिभिजन प्रमुख मल्लले बताए ।

Leave a Reply