भाइरसको संक्रमण देखिएपछि ओपिडी सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको बेनी अस्पतालले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सेवा सञ्चालनमा असहज भएकाले आउँदो शुक्रबारसम्मका लागि ओपिडी सेवा बन्द गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो । शुक्रबारको स्टाफ मिटिङबाट इमरजेन्सी, इन्डोर, शल्यक्रिया र ल्याव सेवालाई निरन्तरता दिने तथा ओपिडी सेवा भने आजदेखि बन्द गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

बेनी अस्पतालमा ओपिडी सेवा बन्द भएपछि कोरोना भाइरस (कोभिड–१९)को पहिलो र दोस्रो लहरको समयमा यसअघि सञ्चालन गरेर बन्द गरिएको फिभर क्लिनीक पनि आजदेखि पुनः सञ्चालन गरिएको छ । म्याग्दीमा आइतबारसम्म जिल्लाभर कुल १ सय ९४ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जिल्लामा कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि भएको बताउनुभयो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै म्याग्दी जिल्लामा हालसम्म कुल ३ हजार ६ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ हजार १ सय २३ जनाको पीसीआर तथा १ हजार ५ सय २ जनाको एन्टीजेन विधिबाट कोरोनाको परीक्षण गरिएको थियो । पछिल्लोपटक कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि म्याग्दीमा १० दिनका लागि शैक्षिक संस्था र तातोपानीका कुण्डहरु तथा माघ महिनाभर धार्मिक स्थलहरु बन्द गरिएको छ ।

यसअघि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसिएमसी) म्याग्दीको वैठकले जिल्लामा सञ्चालित शैक्षिक संस्था र तातोपानीका कुण्डहरु यही माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै डिसिएमसी वैठकले धार्मिक स्थलहरुमा माघ मसान्तसम्म दैनिक नित्य पुजाअर्चना मात्रै गर्न पाउने गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

म्याग्दीमा हाल २ सय ८० वटा अक्सिजन सिलिण्डर मौज्दात रहेको बेनी अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा ७९ हजार ७ सय ४१ जनाले पहिलो मात्रा र ६० हजार १ सय ५१ जनाले कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएका छन् ।

 

Leave a Reply