सुन्तलाको गाउँ भनेर चिनिने पर्वतको जलजला गाउँपालिका– १, बासखर्क गाउँमा यसबर्ष सुन्तला ४ करोड रुपैया बढीको सुन्तला बजारमा गएको छ । सिंगो गाउँ सुन्तला खेतीमा आर्कषित भएपछि हरेक बर्ष उत्पादन बढेको छ ।

ब्यावसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले २ सय ६५ घरधुरीमध्ये २ सय भन्दाबढी घरपरिवारले सुन्तला खेती गरेकाले चार करोडभन्दा बढीको सुन्तला उत्पादन भएको बताउनुभयो ।

गाउँमा विभिन्न जिल्लाबाट आएका ब्यापारी, स्थानीय कृषकले समेत पोखरा लगायतका बस्तीमा लगेर सुन्तला बिक्री गर्न थालेपछि हरेक बर्ष नयाँ बोट समेत विस्तार गरिएको बजारमारे सुन्तला सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका खत्रीको भनाई छ ।

सहकारीमार्फत नयाँ १४ हजार सुन्तला विरुवासहित बासखर्कमा २५ हजार भन्दा बढी सुन्तलाका विरुवा लगाइएको छ । खत्रीले ३५ रोपनी जग्गामध्ये २३ रोपनी जग्गामा सुन्तला लगाएर यस बर्ष ३ सय बोटका सुन्तला विक्रिबाट बार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

उहाँले आगामी बर्ष ५० लाख आम्दानी गर्ने लक्षसहित १ हजार ३५० वटा सुन्तलाको बोट लगाएका छन् । बासखर्कका कृषकलाई बगैचामा आएर ब्यापारीले १४० रुपैया केजी दिएपछि उत्साहि छन् । सडक सुविधाले पोखरा, काठमाण्डौ, बुटवाल, बेनी लगायतका ब्यापारी माघ लाग्न वित्तिकै बगैचाँमा पुग्ने गरेको कृषक रुद्र बहादुर खत्रीले बताउनुभयो ।

सुन्तलाले राम्रो आम्दानी दिएपछि विदेश छोडेर २ बर्षदेखि घरमै छु। यस बर्ष सुन्तला उत्पादन राम्रो भएपछि बिक्रिबाट ८ लाख रुपैया भन्दा बढी आम्दानी हुने खत्रीको भनाई छ ।

बाँसखर्कमा उत्पादन भएका सुन्तलालाई गण्डकी प्रदेशकै उत्कृष्ट भएको भन्दै ब्यापारीले समेत खदिरमा प्रतिस्पर्धा गर्ने गरेका छन् । चारबर्ष अगाडी पोखरामा सम्पन्न भएको साबिकको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा बासखर्कको सुन्तला उत्कृष्ट ठहरिएको थियो ।

अन्य जिल्लाका सुन्तलाभन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याब परीक्षणबाट पत्ता लागेपछि ब्यापारीको नजर समेत बासखर्कमा पर्ने गरेको छ । उपयुक्त भू–बनोट, उत्तरी मोहडा फर्किएको क्षेत्र, बगैँचा सुधार, पर्याप्त मल र सिँचाइको व्यवस्थाका कारण बाँसखर्कको सुन्तला स्वादिलो हुने गरेको कृषि प्राविधिकको भनाई छ ।

बाँसखर्कको सुन्तलाको दानाको आकार पनि ठूलो छ । अन्नबाली छाडेर यहाँका किसान विगत एक दशकदेखि सुन्तलामा निर्भर हुन थालेपछि पछिल्लो बर्ष उत्पादन बृद्धि भएको जलजला गाउँपालिकाले जनाएको छ । बासखर्क गाउँको मुख्य बाली नै सुन्तला हो । बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेँलपुर देखिने गरेको छ ।

सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोग कीराको व्यवस्थापन, सुत्तला टिप्ने मेशिन, कलमी बिरुवा उत्पादन लगायतमा सहुलियत र सहज भएको स्थानीयको भनाई छ । तत्कालिन समयमा बाँसका घारी मात्रै हुने भएकाले बाँसखर्क नामाकरण गरिएपनि अहिले भने सुन्तलाको राजधानीको रुपमा चिनिने गरेको छ।

Leave a Reply