म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौर देखि बागलुङ नगरपालिका-४ कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण तिब्र गतिमा अगाडी बढेको छ। गत मंसिरबाट निर्माण थालिएको पुलको सम्झौता अवधिभन्दा अगाडी नै निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।

धार्मिक तथा पर्यटकीय गन्तब्यका साथै स्थानीयको सहजताका लागि दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण थालिएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

‘पुललाई समयमै सम्पन्न गर्न आवश्यक समन्वय गरिएको छ,‘समुदायस्तरबाट आवश्यकता अनुसारकै सहयोग भइरहेको छ’ वडा अध्यक्ष रावलले भन्नुभयो । उहाँका अनुसार प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाको पहलमा योजना परेको थियो ।

पुल निर्माण पछि बागलुङको पञ्चकोट शालग्राम संग्राहालय लगायत बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा आवत जावत गर्न सहज हुने छ । पुलको कुल लागत ३ करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कँुडुले निवासी जयलाल सापकोटा, ईन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भईसक्ने निर्माणको जिम्मा पाएको थानी हिमसिखर जेभीका नरहरी खड्काले बताए । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । पुलसँगै विद्यालयमा समेत छिमेकी जिल्लाबाट विद्यार्थीको आगमन तथा खेलकुद सहितका अन्य गतिविधिहरुमा समेत सहज हुने छ ।

Leave a Reply