अब एकल पुरुषले पनि भत्ता पाउँने भएका छन् ।पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो ।छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताले एकल महिला र ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकलाई सम्बोधन गरे पनि कतिपय एकल    पुरुष तथा विदुर पुरुषहरूको जीवनसमेत कष्टकर देखिएको हुँदा सबैलाई सामाजिक सुरक्षाको मापदण्डमा छिराउने काम गरिएको अध्यक्ष पौडेलले बताउनुभो ।

उहाँले भन्नुभयो, “कसैले पनि सामाजिक सुरक्षाको अनुभूति गर्नबाट वञ्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ ।

तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।” महाशिला गाउँपालिकामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको सङ्ख्या ४० को हाराहारीमा छ ।

त्यसै गरी गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।पूर्ण अपाङ्गता ‘क’ र आंशिक अपाङ्गता ‘ख’ वर्गले सङ्घीय सरकारबाटै भत्ता पाउँदै आएका छन् ।‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई मासिक छ सय रुपियाँका दरले भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो ।

Leave a Reply