File photo

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ। केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो।

२०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार ३७२ जना भएको जिल्ला जनजणना अधिकारी घनश्याम सापकोटाले बताए। ‘म्याग्दीको जनसंख्या घट्नुमा बैदेशिक रोजगार र बसाईसराई नै प्रमुख कारण हो’ सापकोटाले भने।

जनगणनाबाट बैदेशिक रोजगारीमा गएको तथ्याङ्क हाल सार्वजनिक भएपनि गणक र सुपरभाईजरबाट प्राप्त विवरणमा ग्रामिण क्षेत्रबाट बसाईसराई र बैदेशिक रोजगारीमा गएर उतै बस्नेको संख्या पछिल्ला बर्षमा ह्वात्तै बढेको कारण जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ।

कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा खाडीमुलक तथा छिमेकी राष्ट्र भारतबाट घर फर्किएकाहरु जनगणनमा समेटिएकाले समेत जनसंख्याको घट्दो क्रम रोकिएको जनगणनाा कार्यालयले जनाएको छ।

‘जनगणनाको अर्को चरणमा म्याग्दीको सम्रग चित्र आउँछ’ कार्यालय प्रमुख सापकोटाले भने। २०७८ कात्तिक र मंसिर महिनामा गरिएको जनगणनाको नतिजा अनुसार म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८१८ र पुरुषको संख्या ५२ हजार ५५४ जना भएको छ। बैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्याधिक छ।

पछिल्ला बर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको तथ्याङ्कले देखाउँछ। म्याग्दीबाट वैदेशिक रोजगारीमा ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ।

वैदेशिक रोजगारी अन्तरगत छिमेकी भारतमा गएको तथ्याङ्क नै नभएकाले यो संख्या अझै बढ्न सक्छ। जिल्लाभित्र २५ हजार ३७४ घरधुरीमा २९ हजार २४२ परिवार संख्याको बसोबास छ। ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। सात हजार २०२ घर र नौ हजार ४६५ परिवार भएको बेनी नगरपालिकामा १७ हजार ४९० महिला र १५ हजार ५७२ पुरुष गरि कुल ३३ हजार ०६२ जनसंख्या छ।

तीन हजार ३४० घरमा तीन हजार ६१८ परिवारको बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको जनसंख्या १२ हजार ३५१ जना छ। तीन हजार ८ घरमा तीन हजार १९२ परिवार रहेको धवलागिरीमा १२ हजार ६०४, चार हजार ३३६ घर र चार हजार ८१८ परिवार भएको मालिकाको जनसंख्या १८ हजार ३४६, तीन हजार ६९९ घर र तीन हजार ९३४ परिवार भएको मंगलाको १४ हजार ७७२ र तीन हजार ७६७ घर, चार हजार १७४ परिवार भएको रघुगंगाको जनसंख्या १४ हजार २३२ जना छ।

१० वर्ष अगाडीको गाविसस्तरको जनगणना विवरणलाई हेर्दा पनि पालिकास्तरमा समेत जनसंख्या घट्दो क्रममा रहेको देखिन्छ। २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२ औ जनगणना अभियान अन्तरगत म्याग्दीमा  १८६ जना गणक र ४७ जना सुपरीबेक्षकहरु जनगणनामा परिचालन भएका थिए। संघीय ब्यवस्था लागू भएपछि पहिलो पटक जनणना भएकाले जिल्लाको लैगिक र आर्थिक अवस्थाको डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको छ।

Leave a Reply