कोदोको ढिँडो र बाँकोको गुन्द्रुकले परिचित बागलुङको बरेङमा रहेको सिग्दी सामुदायिक होमस्टे कोरोना महामारीका कारण थलिएको छ।

वि.सं २०७६ सँगै सञ्चालनमा आएको होमस्टे नौ महिनामै बन्द भएपछि पुनःसञ्चालनमा आउन नसकेको होमस्टे सञ्चालक समितिका अध्यक्ष हिराबहादुर थापाले बताए।

उक्त होमस्टे सञ्चालन भएको छोटो समयमै चर्चामा आएको थियो। कोरोना महामारी फैलिने त्रासमा बन्द भएपछि होमस्टे सञ्चालकले पेशा नै परिवर्तन गरेका छन्।

युवापुस्ता गाउँबाहिर रहेको र घरमा रहेका वयस्कले पनि त्रास कायम रहेको भन्दै होमस्टे पुनः सञ्चालनका लागि आनाकानी गरेको उनको भनाइ थियो।

‘लामो समय कुर्न सकिन, अहिले बाख्रापालन गर्न थालेको छु’, सञ्चालक थापाले भने, ‘अब बाख्रा पाल्न छोड्नु कि होमस्टे सञ्चालन गर्न छोड्नु भएको छ।’

सिग्दीमा पहिचानका रूपमा रहेको सांस्कृतिक कार्यक्रमका कलाकारले दुई वर्षको अवधिमा विवाह गरे।

पुराना कलाकार विवाह गरेर बाहिरिने र नयाँ कलाकार तयार गर्ने समय नभएकाले होमस्टे सञ्चालनमा ल्याउन अर्को समस्या परेको छ।

‘हामीले पटक-पटक प्रयास गर्दै आइरहेका छौं, छलफल भइरहेको छ, पहिले सहभागी घरबाहेकका घर समावेश गरेर भए पनि सञ्चालन गर्नुपर्छ भनेका छौं’, उनले भने, ‘तर समुदाय तयार नभएसम्म नहुँदोरहेछ, कलाकार नभए सांस्कृतिक कार्यक्रम नहुने, सांस्कृतिक कार्यक्रमबिनाको होमस्टेको कोही काम आउँदैन। कोरोनाको समयमा अन्य व्यवसायसँगै थालिएका होमस्टे सञ्चालकहरू अझै  सहज रूपमा होमस्टे सञ्चालनमा फर्किन तयार भएका छैनन्।’

यहाँको होमस्टेमा लोकल कुखुराको झोल र कोदोको ढिँडो खाने भन्दै छोटो समयमा धेरै पर्यटक त्यहाँ आएको तथ्यांक छ। सबभन्दा धेरै आन्तरिक पर्यटकको रोजाइ बनेको होमस्टे कोरोनाका कारण थलिएको हो।

गुल्मीको सिमानासँग जोडिएको बरेङमा बागलुङ, पर्वत, पोखरा र गुल्मीबाट भन्दा धेरै पर्यटक बुटवलबाट आउने गरेका थिए।ठूलो बजार नरहेको गाउँपालिकामा घुम्न आउनेदेखि काम विशेषले आउनेहरूको आश्रयस्थल बनेको होमस्टे एक वर्ष पनि सञ्चालन नहुँदै बन्द भएको गाउँपालिकाले जनाएको छ।

‘होमस्टे पुनः सञ्चालनका लागि पहल भइरहेको छ’, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने,‘कोरोना फैलिएकाले जोडबल गरेका छैनौं, तर यसलाई त्यसै मर्न दिँदैनौं।’

गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेर होमस्टेमा सांस्कृतिक कार्यक्रमका लागि सभाकक्ष बनाइदिएको छ। त्यही कक्षमा अहिले विवाह, व्रतबन्ध र अन्य धार्मिक कार्यक्रम हुने गरेका छन्।

त्यस्तै, गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको अनुदान रकम पदमार्गमा खर्चिएको उनले बताए। होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने क्रममै रहेका बेला महामारीले थला पारेको अध्यक्ष शर्माको  भनाइ थियो।

‘हाम्रो प्राकृतिक सम्पदा कौडेको धुरी हो त्यहाँ घुम्न जानकै लागि सजिलो बनाउन पदमार्ग बनाएका छौं’, उनले भने, ‘यस धुरीबाट अनगिन्ती सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।’

सिग्दी होमस्टेमा एकै पटकमा ३० जनासम्म पर्यटक बस्न सक्छन्।

कौडेधुरी नजिकै डाँडामा भ्युटावर निर्माण गरिएको छ। सत्यावतीको मन्दिर र पौराणिक दरबारका अवशेष र यहाँको प्राकृतिक सम्पदा पर्यटक पुग्नै पर्ने ठाउँहरू रहेका छन्।

Leave a Reply