म्याग्दीको रघुगंगा गाउँपालिका-१,बेगखोलाको महादेव माविबाट चोरी भएको ५ थान ल्यापटप बारे सुचना दिनेलाई नगद १ लाख पुरस्कार दिइने भएको छ ।

विद्यालयबाट ल्यापटप चोरी भएपछि बसेको सरोकारवाला निकाय तथा स्थानीय अभिभावकको बैठकले पटकपटक कटुवाल र अन्य माध्यमबाट समेत ल्यापटप फिर्ताका लागि गरिएको अनुरोधलाई बेवास्ता गरिएको भन्दै तीन दिन भित्र ल्याउने वा चोरीमा संलग्न हुनेलाई १ लाख नगद पुरस्कार दिने निर्णय भएको छ ।

विधालय व्यावस्थापन समिति नर्सिङ बहादुर पुनको अध्यक्षतामा बसेको बैठकमा गत माघ ९ गते भएको घटनाले विद्यालय नै असुरक्षित भएको बताउँदै शिक्षक स्टाफ, युवा जागरण, युवा क्लब, आमा समुह,जनप्रतिनिधि र अभिभावक समेतले सम्भावित स्थानमा खोजी गर्ने, लाइसेन्स प्राप्त झाँक्रीको समेत साहरा लिने तथा प्रहरीमार्फत तालिम प्राप्त कुकुर परिचालनका लागि समेत आवश्यक समन्वय गर्ने निर्णय भएको स्थानीय पत्रकार दलप्रसाद तिलिजाले बताए ।

उनका अनुसार हरेक तथा संका लागेको घरमा खानतलासी समेत गर्न सकिने, चोरी भएको ल्यापटप लुकिछिपी बिक्री वितरण गर्न सक्ने भएकाले खरिद नगरी सूचना दिन समेत अनुरोध गरिएको छ ।

वडा अध्यक्ष बिलबहादुर फगामीले विद्यालय नै असुरक्षित भए समुदाय नै असुरक्षित हुने भएकाले घटनामा संलग्नलाई जसरी पनि कानुनी दायरामा ल्याउने बताए । ‘प्रारम्भीक अनुसन्धानमा विद्यालयमा नियमित आवतजावत भएकैबाट पनि हुनसक्छ,‘चलाखीपूर्ण तरिकाले चोरी भएकाले सिंगो गाउँ नै चोरको पहिचानमा जुटेको छ’ अध्यक्ष फगामीले भने ।

विद्यालयमा आयोजित बैठकमा प्रधानाध्यापक दुतबहादुर गर्बुजाले घटनाका बारेमा जानकारी गराएका थिए । विद्यालयमा कक्षा ४ देखि १० सम्म कम्यूटर शिक्षाको पठनपाठन हुने गरेको छ । विद्यालयमा १ सय ३२ विद्यार्थी अध्ययनरत छन् । बेगखोलाबाट विदेशमा रहेकाहरुबाट समेत ठूलो सहयोगमा भौतिक तथा शैक्षिक गतिविधिमा सहयोग हुदै आइरहेको छ ।  घटनाका बारेमा प्रहरीले समेत अनुसन्धान अघि बढाइएको जनाएको छ ।

Leave a Reply