म्याग्दीको पर्यटकीय स्थलहरुमा हिउँ खेल्न भनेर स्थानीय पर्यटकहरुको लर्को लागेको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनले बिहीवारदेखि हिँजो शुक्रबार रातीसम्म हिमपात भएपछि पर्यटकहरु हिउँ खेल्न पुगेका हुन् ।

आज (शनिबार) दिनभर जसो पर्यटकीयस्थलमा हिउँ खेल्ने पर्यटकहरुको भीड लागेको थियो । वर्षासँगै हिमपात भएपछि हिउँ खेलेर रमाउनका लागि स्थानीय पर्यटकहरु शुक्रबार नै पर्यटकीय क्षेत्रमा पुगेका थिए । आजदेखि मौसममा सुधार आएपछि पर्यटकले सवारीसाधन रिजर्भ गरेरै हिउँ खेल्न पर्यटकीय क्षेत्रमा आएको स्थानीयले बताएका छन् ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरु हिउँसँगै रमाउन पुगेका हुन् । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल घोरेपानी, पुनहिल क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकहरु पुगेका छन् । हिमपातपछि पर्यटकहरु हिउँ खेल्न भनेर आएको पर्यटक प्रहरी कार्यालय घोरेपानीका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमराज गौलीले बताउनुभयो ।

यसैगरी रघुगंगा गाउँपालिकाको रुइसे, भेडीओढार क्षेत्र, बेनी नगरपालिकाको जगन्नाथ, केभहिल, भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा पनि म्याग्दी सदरमुकाम बेनी आसपासका क्षेत्रबाट पर्यटकहरु हिउँ खेल्न पुगेका छन् । त्यस्तै मंगला गाउँपालिकाको टोड्के, झाँक्रीपानी, मालिकाको निस्कोट बराहतालमा पनि पर्यटक पुगेका छन् । धवलागिरि गाउँपालिकाको ताकम कोतमा धारापानीलगायत ठाउँबाट पर्यटकहरु हिउँ खेल्न र भ्रमण गर्न आएको ताकमका स्थानीय पत्रकार गोपाल आचार्यले बताउनुभयो ।

हिमपात भएपछि जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुमा पर्यटकहरु हिउँ खेलेर रमाउनुका साथै भ्रमण गर्न निस्किएका हुन् । अहिले सबैभन्दा धेरै जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा पर्यटकहरु पुगेर रमाएका थिए ।

आज (शनिबार) विदाको दिन परेको भएर पनि हिमपातपछि मौसम खुलेर घाम लागेको हुँदा जिल्लाको विभिन्न स्थानबाट पर्यटकहरु टोड्केमा भ्रमण गर्नका लागि आएको टोड्के हिल रिसोर्ट प्रालिका असिस्टेन्ट म्यानेजर मेनुका थजालीले जानकारी दिनुभयो ।

टोड्के क्षेत्रमा मात्रै हिउँ खेल्नका लागि ३ सयजना भन्दाबढी पर्यटकरु जीप तथा मोटरसाईकलमा पुगेको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । शुक्रबार बिहानैदेखि हिमपात भएपछि आफूहरु टोड्के पुगेर हिउँसँग रमाउन पाउँदा आनन्दको महसुस गर्न पाएको तातोपानीका युवा कुमार केसीले अनुभव सुनाउनुभयो ।

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी, दशौं अग्लो अन्नपूर्ण तथा निलगिरी, माछापुच्छ«े, मानापाथी, गूर्जा, चुरेनलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिने तथा हिउँ खेल्न पाइने हुँदा अधिकांश मानिसहरुको रोजाइमा टोड्के क्षेत्र पर्ने गर्दछ ।

Leave a Reply