बिहीबारदेखि बागलुङमा ‘लखन कप’ पुरुष/महिला भलिबल प्रतियोगितासहित खेलकुद र सांस्कृतिक कार्यक्रम सुरु हुँदैछ । नेपाल मगर युवा सङ्घ जिल्ला समितिले नेपाल मगर सङ्घको ४०औँ स्थापना दिवसका अवसरमा ‘लखन कप–२०७८’ को आयोजना गरेको हो ।

सङ्घले फागुन १५ लाई ‘मगर दिवस’का रूपमा मान्दै आएको छ । चार दिनसम्म चल्ने कार्यक्रममा भलिबल, सामूहिक लोकनृत्य, घैँटोफोर, छेलो, कुर्ची दौडलगायतका प्रतियोगिता राखिएको खेलकुद संयोजक किशोर थापाले जानकारी दिए । पुरुष/महिला भलिबलमा जिल्लाभित्रका खेलाडी समूहले मात्र भाग लिने उनको भनाइ छ । खुला वडास्तरीय भलिबलका विजेतालाई रु ८१ हजार १८१ र उपविजेतालाई रु ४१ हजार १४१ पुरस्कार राशि राखिएको छ । खुला महिला भलिबल प्रतियोगिताका विजेताले रु ३० हजार र उपविजेताले रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

विजयी समूहलाई नगदसहित कप, मेडल र प्रमाणपत्र उपलब्ध गराइने संयोजक थापाले बताए । माध्यमिक विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा पहिलो हुनेलाई रु १० हजार, दोस्रोलाई रु पाँच हजार र तेस्रोलाई रु दुई हजार ५०० पुरस्कारको प्रबन्ध गरिएको छ । यस्तै छेलो फाल्ने प्रतियोगिताका विजेतालाई रु पाँच हजार पुरस्कार दिइनेछ । प्रतियोगिता/कार्यक्रम सम्पन्न गर्न रु साढे पाँच लाखको खर्च अनुमान गरिएको आर्थिक संयोजक प्रकाश थापाले बताउए । देशविदेशमा रहेका शुभेच्छुक, व्यवसायी, सङ्घसंस्थालगायतबाट सहयोग जुटाएर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

कार्यक्रमको सहआयोजकका रूपमा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, नेपाल मगर सङ्घ बागलुङ नगर प्राररम्भिक समिति, नेपाल महिला मगर सङ्घ जिल्ला समन्वय समितिलगायत छन् । कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक/सांस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ । कार्यक्रम कालिका भगवती मन्दिर परिसरमा रहेको बालउद्यानमा हुनेछ । फागुन २ को लखन स्मृति दिवस र १५ गतेको मगर दिवसका सन्दर्भ जोडेर ‘लखन कप–२०७८’ को आयोजना गरिएको नेपाल मगर युवा सङ्घ बागलुङले जनाएको छ ।

Leave a Reply