नेपालमै साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तब्य पर्वत जिल्लाको सदरमुकाम कुस्मा कालीगण्डकी नदीमाथि सिसैसिसाबाट बनाइएको स्काई ब्रिज सञ्चालनमा आएको छ। हार्नेस जिपलाइन प्रालिले जिपलाइन नजिकै बनाएको सिसाको स्काई ब्रिज सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटनसँगै ब्यवसायीक रुपमै खुल्ला गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेत बताउनुभयो।

‘अब सिसाको पुलमा रमाउन चीनमा जानुपदैन्,‘हामीले पर्वतमै यो सुविधा ल्याउन सफल भएका छौ’ निर्देशक बस्नेतले बेनीअनलाइनलाई भन्नुभयो । पर्यटककोसुरक्षालाई ध्यानमा राखेर सिसा पनि बलियो बनाइएको छ ।

कालिगण्डकी नदीबाट २ सय ५० मिटर माथि भिरमा रहेको ब्रिजमा एकपटकमा ५० जनाले अवलोकन गर्न मिल्छ । जिपलाइनमा देखिएको आर्कषणसँगै पर्यटकको आकर्षणको लागि मुटु–कमाउने स्काई ब्रिजमा समेत पर्यटकको थामिनसक्नु भिड हुने निर्देशक बस्नेतको भनाई छ ।

चीनको हेनान र हुनान प्रान्तका पर्यटकीय स्थलमा विश्वभरबाट पुग्ने अधिकांसको रोजाई नै सिसाको पुल भएको अवस्थामा सिसाबाट बनेको हुनाले नै रोमाञ्चक अनुभव पाउन स्थानीय तथा अन्तराष्ट्रिय पर्यटकहरूको घुइँचो पर्वतमा लाग्ने हार्नेस जिपलाइन प्रालिले जनाएको छ । स्काई ब्रिजमा पुग्नुभएका पर्वतका पत्रकार दुर्गाप्रसाद शर्माले तल हेर्दा डर लाग्ने भएपनि केही समयपछि डर भगाउने बताउनुभयो ।

विगतमा अग्ला पुलहरू हेर्न पर्वतमा आउने पर्यटक अहिले पर्वतमा बन्जीजम्प, विश्वकै अग्लो स्विङ, क्यानोनिङ, जिपलाइन लगायत साहसिक गतिविधिमा रमाइरहेका छन् । मुलुककै चर्चित र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएका नेपालका सबै पर्यटकीस्थलहरुलाई पर्वतले उछिनेको छ । साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकले कुस्मा आसपासका क्षेत्रमा दिनभरी विताउँदा समेत समय अपुग हुने गरी नयाँ–नयाँ खेल थपिएको छ ।

Leave a Reply