म्याग्दीका किसानले लगाएको गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि प्राविधिकका अनुसार गहुँमा लाग्ने सिन्दुरे रोग एक प्रकारको ढुसीजन्य रोग हो । यो रोग हावाको माध्यमाबाट सर्ने गर्छ।

विगत वर्षमा गहुँबालीमा डढुवा रोग देखिने गरेकामा यसवर्ष सिन्दुरे रोगको प्रकोप देखिएको जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कतै पहेँलो त कतै खैरो सिन्दुरे रोगले गुहँबालीमा क्षति पु¥याउन थालेपछि किसानले विषादीको प्रयोग गर्न थालेका छन् । ढुसीका कारण गहुँबालीमा यो रोग देखापर्ने प्राविधिकको भनाइ छ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार हाल सिफारिसमा आएका हिमगङ्गा, भेरी गैगा, मुडुले १, खुमल शक्ति, जिङ्क गहुँ १, जिङ्क गहुँ २ गहुँका जातमा सिन्दुरे रोग कम देखिएको छ । जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, सिमलचौर, मालिकालगायतका क्षेत्रमा लगाएको गहुँबालीमा बोट मर्ने, पात सुक्ने जस्ता रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।

उता यहाँका किसानले गरेको व्यावसायिक केरा खेतीमा दुईवर्ष अघिदेखि लागेको गवाँरो रोगको प्रकोप नियन्त्रणमा आउन नसक्दा केरा खेती गरेका किसानले हैरानी व्यहोर्न बाध्य भएका छन् । गतवर्षको चैत साउनमा पनि केरामा गवारो रोग लागेर कोसा लाग्ने बेलाका केराका बोट सुकेका थिए ।

गत साउनमा पनि खपटे घुन र गवारो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनःरोग फैलिएपछि यहाँ केरा खेती गरेका किसान चिन्तित बनेका बेनी नगरपालिका– २ खबराका किसान शोभित शर्मा सापकोटाले बताए । उनले लगाएका ६ सय केराका बिरुवामध्ये ६० भन्दा बढी गवारो रोगका कारण मरेका छन् ।

पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका बेनी नगरपालिका– २ बगरफाँटका किसान बेदप्रसाद उपाध्यायले जानकारी दिए ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा खपटे घुन र गवारो रोगले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् । उनले सात रोपनी क्षेत्रफलको जग्गामा केरा खेती गरेका छन् ।

खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको किसान कार्कीले बताए । यहाँका किसानले धान फल्ने खेतमा केरा खेती सुरु गरेका हुन् । सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवारोले व्यावसायिक केरा खेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ ।केरा बेचेर खबरामा वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी भित्रिने गरेको छ ।

Leave a Reply