डेरी उद्योग तथा पसलहरूले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरूको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ। काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो।  उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरूमा बिना लेभलका दही, पनिर लगायतका उत्पादनहरू बिक्री/वितरण भएको बताइन्।

उनले बिना लेभलका दुग्धजन्य वस्तुहरू उत्पादन गर्दा गुणस्तरको सुनिश्चितता नदेखिने बताए।  महानिर्देशक वैद्यले विगतमा डेरी उद्योग तथा पसलहरू जथाभावी रूपमा सोडा, चिनी, साल्टहरू प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरू गरेको भेटिए कानून अनुसार कडा कारबाही गर्ने बताइन्। उनले विशेष गरेर यस्तो गर्मी महिनामा हुने गरेको बताइन्।

विभागले तत्कालीन रूपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिका अनुसार विशेष गरेर दूध, पानी, खाने तेललगायत दैनिक उपभोग्य वस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रूपमा विभाग लागि परेको दाबी गरिन्। महानिर्देशक वैद्यले दुग्धजन्य पदार्थमा गुणस्तर  कायम गर्ने ऐन परिमार्जन गर्नुपर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताइन्। उनले अब छिट्टै प्रतिनिधि सभाबाट यो विधेयक पास हुने तयारीमा रहेको बताइन्।यो विधेयक प्रतिनिधि सभाबाट पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रृंखलामा परिवर्तन आउने उनको भनाइ छ। setopati.com

Leave a Reply