जिल्लास्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका–३,दानाको ज्ञान प्रकाश मावि दाना प्रथम भएको छ । बेनी नगरपालिका-५,पुलाचौरको जनकल्याण माविमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक माविलाई पराजित गरेको हो ।

प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ५५ हजार ५५५ र ३३ हजार ३३३ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षक चिरञ्जीवि सुबेदीले बताए ।विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगिमा १६ वटा बिधालय सहभागी भएका थिए । विजेता र उपविजेता तथा रेफ्री लक्ष्मण श्रेष्ठ र अमर पुनलाई वडा अध्यक्ष लक्ष्मण बानियाँले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ठ स्पाइकर ज्ञानप्रकाश माविका गोविन पुर्जा र उत्कृष्ट खेलाडी बेनी सामुदायिकका रामबहादुर सुचिकार घोषित भए । म्याग्दीमा राष्ट्रिय खेल भलिबलप्रतिको आर्कषणलाई मध्यनजर गरी विद्यालयले प्रतियोगिता गरेको प्रअ कमल पौडेलले बताए ।

प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गदैं शिक्षा र खेलकुद एक अर्काका परिपूरक भएको बताएका थिए । उनले खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा मात्रै हेर्न नहुने बताए । समापन कार्यक्रमको अध्यक्षत विब्यस अध्यक्ष गोपाल बानियाँ, स्वागत मन्तब्य प्रअ कमलप्रसाद पौडेल र सञ्चालन शिक्षक नायक रेशम बानियाँले गरेका थिए ।

Leave a Reply