भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वको अवसरमा बेनी नगरपालिका–२,खवरा पिपलडाँडामा अवस्थित श्री राधाकृष्ण मन्दिरमा साढे ७ लाखको अक्षय कोष स्थापना गरिएको छ ।  आइतबार मन्दिर प्राङ्गनमा अक्षय कोष दानदाता सम्मान कार्यक्रममा मन्दिरमा स्थानीयको अतुलनीय योगदानको चर्चा गरिएको थियो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि भद्रबहादुर कार्कीले मन्दिरले समुदायको एकतालाई थप बलियो बनाएको बताउनुभयो । उहाँले असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमै सम्मान गरिएको बताउनुभयो ।

नियमित मन्दिरको पुजाआजा सहितका गतिविधि सञ्चालन गर्ने उदेश्यले कोष स्थापना गरिएको सञ्चालक समितिका अध्यक्ष हिराबहादुर घिमिरेले बताउनुभयो । मन्दिरको चौतर्फि विकासका लागि अक्षय कोषले थप सहज भएको अध्यक्ष घिरिमेको भनाई छ ।

भौगोलिक रुपमा रमणिय र धार्मिक पर्यटनको हिसावले समेत उक्त क्षेत्रमा सम्भावना रहेकाले उजागर गर्न सबै पक्षले हातेमालो गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत महिला उद्यम विकास समितिकी सभापति लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, समाजसेवी कृष्णबहादुर सुबेदीले मन्तब्य राख्नुभएको थियो भने स्थानीय दलबहादुर घिमिरे,यज्ञका प्रमुख पन्डित टिकानन्द सुबेदी लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष घिमिरे, स्वागत राधिका पौडेल र सञ्चालन मिना कुमारी सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply