अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले म्याग्दीका पालिकास्तरमा उम्मेदवारी दिने तयारी गरेको छैन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि गठित राप्रपा नेपाल म्याग्दीका अध्यक्ष गब्य परियार जिल्लाभित्र संगठन नभएकाले केही वडा सदस्यहरूमा तालमेलको प्रस्ताव गरेपनि अहिलेसम्म सकारात्मक संकेत नपाएको बताए ।

जिल्लाभित्र निर्वाचन सम्बन्धि दलिय कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेस (विपी)म्याग्दीका अध्यक्ष पहलबहादुर खत्रीले इच्छुक उम्मेदवार पाएमा पार्टीबाट चुनावमा सहभागी बनाउने बताए । उनले जिल्लाभित्र संगठन नभएकाले एक्लै पार्टी धान्नुपर्ने बाध्यता रहेको बताए । राप्रपा नेपालका अध्यक्ष परियार र नेपाली कांग्रेस विपीका अध्यक्ष खत्री जस्तै साना दललाई उम्मेदवार खोज्दै मुस्किल छ भने प्रचारप्रसारमा समेत उत्तिकै सकस परेको छ ।

जिल्लामा निर्वाचन कार्यालय सहित सरोकारवाला निकायका कार्यक्रम बाहेक अन्य दलिय प्रतिस्पर्धामा साना दललाई कार्यकर्ता परिचालन तथा चुनावी खर्च जुटाउनै धौ–धौ पर्ने गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष देबेन्द्र कामी भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीका अध्यक्ष छन् । पाँच दलिय भागबन्डामा कामीले जिल्लामा राजनीतिक नियुक्ती मध्ये ठूलो अवसर पाएपनि संगठन भने करिब सुन्य छ । जसपाले बेनी नगरमा मेयर, उपमेयरको घोषणा गरेपनि अहिलेसम्म उम्मेदवारहरूको चर्चा र अभियान छैन ।

‘केन्द्रबाट बजेट आउँदैन्, जिल्लामा स्रोत जुटाएर चुनावमा खटिन सक्ने अवस्था छैन’ साना दलका एक नेताले भने । मतदातादेखि सञ्चारमाध्यमले बेवास्ता गरेको र ठूला दलले आक्रमक चुनावी प्रचारप्रसारलाई टक्कर दिन नसकेको बताउँछन् । जिल्लामा पार्टीको अस्तित्व समाप्त नहोस् भनेर मात्रै जिम्मेबारी लिएको नेताहरूको भनाई छ ।घोषणापत्र राम्रो भए पनि मतदाता ठूला दलमा केन्द्रित भएको नेताहरूको गुनासो छ ।

म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दलले निर्वाचन प्रयोजनका लागि कार्यालयमा निवेदन दिएका छन्।राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना १४ दलले चुनाव चिह्नका लागि विवरण मात्रै बुझाएका छन् ।

साना दलमा राष्ट्रिय जनमोर्चा,राष्ट्रिय जनमुक्ति, मंगोल नेशनल अर्गनाइजेशन,नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,यसैगरी नेपाली काँग्रेस (वि.पी),राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल दलित पार्टी,जनसमाजवादी पार्टी नेपाल,विवेकशील साझा नेपाल, नेपाल मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी र उन्नत लोकतन्त्र पार्टी र समाजिक एकता पार्टीले दल दर्ताका लागि निर्वाचन कार्यालयमा निवेदन दिएका हुन् ।

साना दलमा मंगोल नेशनलले जिल्लाका सबै पालिकामा प्रमुख तथा करिक दुई दर्जन वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ। त्यस्तै यसपटक गाउँपालिका अध्यक्ष सहित वडाहरूमा समेत स्वतन्त्रका उम्मेदवार देखिएका छन् भने स्वतन्त्रबाट रघुगंगा गाउँपालिका अध्यक्षका प्रत्यासी सागर भण्डारीले करिब ६ महिना अगाडीदेखि नै प्रतिबद्धता पत्र सहित चुनावी मैदानमा छन् ।

स्वतन्त्रबाट गाउँपालिकामा भण्डारीको लोभलाग्दो प्रचारप्रसार देखेर केहीले लहलहैमा उम्मेदवारी दिए पनि प्रचारप्रसार गर्न नसक्दा चुनावबाटै अत्यास लागेको जस्तो गरेका छन् । साना दलका उम्मेदवारजस्तै स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रचार प्रभावकारी ढंगले गर्न नसक्दा मतदातामाझ पछाडि परेको बताएका छन् । जिल्लाभर ८७ हजार ३ सय १८ मतदाता रहेका छन्। जिल्लामा ७४ मतदान स्थल र एकसय १९ मतदान केन्द्र निर्धारण गरिएको छ। यसपाली मंगला गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ८ नागी गरी दुईवटा मतदान स्थल थपिएको छ ।

Leave a Reply