स्थानीय क्षेत्रको शान्तिसुरक्षा‚ विकास एवं प्रशासन स्थानीय क्षेत्रकै निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकारलाई स्थानीय सरकार भनिन्छ । स्थानियक सरकार स्थानीय संस्थाबाट गरिने शासन हो‚ जसमा जनताबाट निर्वाचित प्रतिनिधि हुन्छन् । केन्द्रीय सरकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ ।
केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारवीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछ । एउटा देशमा केन्द्रीय सरकार एउटा मात्र हुन्छ भने स्थानीय सरकार एकभन्दा बढी हुने गर्दछ। नेपालमा गाउपालीका,नगरपालिका र प्रदेश लाई स्थानीय सरकारका रुपमा लिने गरिन्छ ।
स्थानिय सरकारको आवश्यकता -स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्न‚ -स्थानीय नेतृत्वको विकास गर्न‚ -स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न‚ -स्थानीय साधन स्रोत‚ सीप‚ प्रविधि‚ क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न‚ लोकतन्त्रको स्थानीयस्तरदेखी नै संस्थागत विकास गर्न‚ -स्थानीय जनतामा राजनीतिको व्यवहारीक ज्ञान बृद्धि गर्न‚ -स्थानीयस्तरको योजना व्यवस्थापन (योजना पहिचान‚ तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ प्रतिफल बाँडफाँड) मा -स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन‚ शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न‚ जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन‚ -स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न ।
अब प्रश्न उठ्छ के स्थानीय तहको मर्म र आवश्यकता अनुसार स्थानीय तहमा कामहरु भैराखेका छन त? स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा ऐन र सोको अधीनमा रही नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था छ।जनताको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारप्रति जनताको ठुलो अपेक्षा हुनु स्वाभाविक हो ।
जनताहरुले सामान्य घरायसी समस्या देखि बिकासका पुर्बाधारका विषयमा स्थानीय जनप्रतिनिधि समक्ष आशा तथा गुनासाहरु पोख्दछन। जुन स्वभाबिक पनि हो। किन कि स्थानीय तह तथा जनप्रतिनिधिहरु नजिकका अभिभावक हुन। र उनीहरुको दायित्व पनि हो आफुले प्रतिनिधित्व गरेको क्षेत्रका मानिसहरुको यी र यस्ता किसिमका समस्याहरु समाधान गर्ने। नेपालमा संघीयता र स्थानीय सरकारको अभ्यासको पहिलो खुड्किला चढ्दै गर्दा जनप्रतिनिधिहरुको खुट्टा लडखडाउनु स्वाभाविक नै मानौ।
यद्यपि यसले उहाँहरुको अक्षमता र स्थानीय तह संचालनको ज्ञानको अभाव देखाउदछ। आफ्नो काम कर्तव्य नै नजानि जनप्रतिनिधि हुनुभएका जनप्रतिनिधिहरुको संख्या व्यापक छ। स्थानीय तहहरुले आपेक्षाकृत प्रगती गर्न नसक्नुको कारण उहाँहरु नै हुन। ज्ञान,सीप र कला त प्राबिधिक कुरा भए जुन इक्षाशक्ती भए प्राप्त गर्न सकिन्छ। नेपालको हकमा अझ भनौ म्याग्दीको कुरा गर्दा जनप्रतिनिधिहरुमा बिकास,परिवर्तन र सुशासन प्रतीको इच्छा कमजोर भएको मैले पाए।
केही फरक गर्ने,आफ्नै नीति नियम बनाउने भन्दा पनि प्रदेश र संघले दिने कार्य निर्देशन पालना गर्ने बाहेकका नमुना कामहरु देख्न सकिएन। धेरैजसो स्थानीय तह सङ्घ र प्रदेशले दिने अनुदान कै भरमा चलेका छन् । आफ्नो आन्तरिक स्रोतले कर्मचारीको तलब जुटाउन पनि नसकिरहेको अवस्थाबाट विकास निर्माण समेतलाई स्रोत जुटाउन सक्ने गरी आन्तरिक स्रोत बढाउनु चुनौतीको रुपमा रहेको छ।
कर,जरिवाना, जग्गा वा टहरा भाडा,सेवा शुल्क बाहेक अन्य आम्दानिका स्रोतहरु पहिलाउन नसक्नुलाई पनि जनप्रतिनिधिहरुको अक्षमतालाई नै मान्छु। बजेटहरु फृज हुनु, खर्च भए पनि चित्त बुझ्दो गुणस्तरीय काम नहुनु पनि जनप्रतिनिधिहरुमा बिकास र परिवर्तन प्रतीको इक्षाशक्तीको अभाव हो। आशा गरौ २०७९ को स्थानीय चुनावमा सक्षम जनप्रतिनिधिहरु पाउन सक्छौ।
त्यसका लागि आम जनताहरुले चेतनाको प्रयोग गर्नु पर्छ, कसैको लोभ लालच र दवाबमा आफ्नो मत खेर फाल्नाले अर्को ५ बर्ष पछुताउनु पर्ने कुरालाई मनन गर्नु पर्छ। पार्टीलाई धर्म र खराबै भए पनि आफ्नो नेतालाई भगवान सम्झिने कार्यकर्ताले पनि आफ्नो गाउँ ठाउँका लागि उचित जनप्रतिनिधि को ठिक हुन्छ भन्ने कुरामा आफ्नो बिबेक पुर्याउन सक्नु पर्छ। लोकतन्त्रको सुसस्कृत बिकास देशमा मतदाताहरुको चेतनाको स्तर कस्तो छ भन्ने कुरामा भर पर्छ।
नेपाल जस्तो देशहरुमा लोकतन्त्र स्थापित हुन नसक्नुको कारण यहाँ बिकृत राजनीति सस्कार हो।जब सम्म आम मतदाता शिक्षित र चेतनशिल हुदैनन तबसम्म लोकतान्त्रको सुसस्कृत अभ्यास हुन सक्दैन। आम मतदाताले आफ्नो एक भोटको महत्त्व बुझ्न सक्नु पर्छ।
नत्र हाम्रो गाउँ, समाज र देश बिकास नहुनुमा हामी प्रत्यक जिम्मेवार छौ भनेर स्विकार गर्नुपर्छ। हामिले हाम्रो स्थानीय तहमा असल नेतृत्व छान्न कस्ता ब्याक्तीहरुलाई भोट दिने त? अथवा भनौ संघीयताको मर्म अनुरुप समानुपातिक बिकासका लागि स्थानीय तहमा कस्ता जनप्रतिनिधि छानिनु पर्छ त? सर्बप्रथम त नेपालमा नेताहरुमा इमानदारीताको अभाव देखिन्छ, आफू र आफ्नो पार्टीलाई स्थापित गर्न र शक्तिमा रहिरहन नेताहरु आर्थिक अनियमितता तथा भ्रष्टाचार गर्दछन।
स्थानीय तहमा हाम्रा स्थानीय नेताहरुलाई नजिक बाट चिनेका हुन्छौ। यदि हाम्रा स्थानीय उम्मेदवारहरु साना साना घरायसी लेनदेनका कुरामा र विभिन्न सामाजिक संघ सस्थामा काम गर्दा आर्थिक पाटोमा इमानदार छैनन र कहिँ कतै आर्थिक अनियमितता गरेको थाह पाउनु भएको छ भने कृपया त्यस्ता उमेदवारहरुलाई आफ्नै पार्टी,टोलको वा आफ्नै परिवारको भए नि भुलेर पनि भोट नहाल्नु होला।
यस्ता ब्यक्तिहरु तपाईंको र तपाईंको ठाउँको लागि नभएर आफ्नै आर्थिक हैसियत बढाउन जनप्रतिनिधि हुनलागेका हुन भनेर बुझ्नु पर्छ। समग्रमा भन्नुपर्दा भोट हाल्दा इमानदार ब्यक्तिलाई हाल्नु होला। अर्को ध्यान दिनु पर्ने कुरा उम्मेदवारहरुमा उर्जाशिल को छ त? इमानदार मात्र भएर हुदैन। काम नै नगर्ने इमानदार र मायालाग्दो जनप्रतिनिधिछान्नु भनेको नि हाम्रो बिकासलाई झन पछि धकेल्नु हो। तपाईंको जनप्रतिनिधि उर्जावान र सक्रिय हुनुपर्दछ।
जटिल निर्णयहरु लिन सक्ने, आफ्नो हर समय स्थानीय तहको बिकास र समस्याहरु सामाधानका लागि खर्च गर्ने उर्जाशिल जनप्रतिनिधि अहिलेको स्थानीय तहहरुको आवास्यकता हो। उर्जाको कुरा गर्दा युवाहरु तुलनात्मक रुपमा बढी उर्जाशिल हुन्छन। त्यसैले आफ्नो जनप्रतिनिधि छान्दा सकेसम्म युवाहरुलाई नै प्राथमिकता दिदा राम्रो हुन्छ। बुद्धि बिनाको बल र उर्जा मुर्खको गुण हो।
त्यसैले तपाईं हामिले छान्ने जनप्रतिनिधिहरुमा हुनु पर्ने अर्को गुण भनेको बौद्धिकता र ज्ञानले भरिपुर्णता हो। माथी उल्लेख गरे जस्तै जनप्रतिनिधिहरुमा आफ्नो काम कर्तव्य, क्षेत्र अधिकार लगायत कानुनी तथा सामन्य प्राबिधिक ज्ञानको अभावले जनप्रतिनिधिहरुलाई अक्षम बनाएको छ। त्यसैले अब जनप्रतिनिधि छान्दा आम मतदाताले उम्मेदवारहरुको बौद्धिक क्षमता र उनिहरुको शैक्षिक योग्यतालाई पनि ध्यान दिनुपर्दछ।
यी लगायत उम्मेदवारको सामाजिक दृष्टिकोण (उस्ले विभिन्न जात जाती, धर्म तथा लिङ्ग प्रती गर्ने ब्यवहार समान छ कि छैन?), बिकास प्रतिको धारणा, समय ब्यवस्थापन,प्रशासनिक कला एबम सीप, उम्मेदवारको प्राथमिकताको क्षेत्रहरुआदिलाई ध्यान दिन सकेमा अर्को पाच बर्ष पक्का पछुताउनु पर्दैन।

Leave a Reply