म्याग्दीको बेनी नगरपालिकामा नेकपा एमालेले नगर प्रमुख अर्थात् मेयर जितेपछि आज (मङ्गलवार) विजयउत्सव मनाएको छ । बेनी नगरको मेयर पदसहित एमाले उम्मेदवारले पाँचवटा वडामा प्यानल जितेको खुसियालीमा एमालेले उत्सव मनाएको हो ।

बेनी नगरको विभिन्न ग्रामीण क्षेत्रबाट आएका एमाले नेता तथा कार्यकर्ता र नौमती बाजागाजासहितको ¥यालीले बेनीबजारमा विभिन्न स्थानको परिक्रमा गरेको थियो । एमालेको विजयउत्सवको ¥यालीले बेनीको मङ्गलाघाट, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, कालीपुल, गणेशटोल, सङ्गमचोक, बैंकरोड र बालमन्दिरचोक हुँदै खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।

बजार परिक्रमा गर्दै मतदातालाई धन्यवादज्ञापन तथा भेटघाटको क्रममा बजारवासीले फुलमाला, अबिर, टिका र खादा लगाएर नवनिर्वाचित एमालेको टिमलाई बधाई तथा शुभकामना दिएका थिए । गएको शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनबाट म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका सुरत केसी विजयी हुनुभएको थियो । आज बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार उहाँले ७ हजार ६ सय ३ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो ।

खुलामञ्चमा आयोजित विजयउत्सव ¥यालीको सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले पार्टीको केन्द्रीय घोषणापत्र र प्रतिबद्धताअनुसार एमालेबाट निर्वाचित टिमले समृद्ध बेनी नगरपालिका र सुखी नगरवासी हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

सोही सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित टिमलाई पार्टीको पूर्ण सहयोग र समर्थन रहने बताउँदै म्याग्देली जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बेनीको मेयर पदमा नवनिर्वाचित सुरत केसीले आफूहरुको टिमले प्रतिबद्धतापत्रमा उल्लेख गरेअनुसार बेनी नगरको विकास र जनतालाई विकासको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले २०६० सालमा म्याग्दी भिडन्तमा परेर प्वालैप्वाल परेको बिजुलीको पोल हाल काठमाडौंमा रहेको बताउँदै उक्त बिजुलीको पोल नगरपालिकाको पहलमा फिर्ता ल्याएर बेनीमा संङ्ग्रहालयको स्थापना गरिने घोषणा गर्नुभयो ।

एमाले बेनी नगर कमिटीका अध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका चुनावी कमान्डर नारायण जिसीले वर्तमान पाँचदलीय सत्ता गठबन्धनको विरुद्ध म्याग्दीमा एमालेले एक्लै प्रतिस्पर्धा गरी चुनाव जितेको बताउँदै आसन्न निर्वाचन पनि एक्लै सामना गर्न एमाले तयार रहेको चेतावनी दिनुभयो । कार्यक्रमको सञ्चालन बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले गर्नुभएको थियो ।

यसैबीच उपमेयरसहित बेनीको दुईवटा वडामा प्यानल जितेको नेकपा माओवादी केन्द्रले पनि आजै सदरमुकाम बेनीमा विजयउत्सव ¥याली मनाएको छ । उपमेयरमा माओवादी केन्द्रबाट ज्योती लामिछाने पौडेल ७ हजार ४३ मतसहित विजयी हुनुभएको छ । विजयउत्सवको क्रममा मतदातालाई भेटेर धन्यवादज्ञापन गर्दै नवनिर्वाचित उपमेयर पौडेलले नगरवासीको चाहनाअनुसार काम गर्ने बताउनुभयो ।

Leave a Reply