म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बहुमत पालिका जित्दै पहिलो राजनीतिक दलका रूपमा पुनस्थापित भएको छ । बि.स २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धेरै वडा जितेपनि जिल्लामा दोस्रो शक्ती भएको नेकपा एमालेले आजै सम्पन्न भएको अन्तिम गणनामा एमालेले ६ मध्ये ४ स्थानीय तहमा विजय हासिल गरेको छ ।

बिहिबार सकिएको मतगणनामा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुन ३५१९ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर तिलिजा २९८६ मतमा रोकिएका थिए । उपाध्यक्षमा एमालेकै दिवाकुमारी तिलिजा ३५६० मतसहित निर्वाचित भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ललिता तिलिजा २९५८ मत ल्याईन्। अघिल्लो स्थानीय तहमा बेनी नगरपालिकाको प्रमुख,अन्नपूर्णमा प्रमुख र उपप्रमुख र मालिका गाउँपालिकामा प्रमुख जितेको नेपाली कांग्रेसबाट यसपटक एमालेले खोसेको छ । त्यस्तै धवलागिरी गाउँपालिकामा एमालेको प्रमुख र उपप्रमुख यसपटक पाँचदलिय गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जितेको छ ।

स्थानीय चुनावको परिणाम सार्वजनिक हुँदै गर्दा एमालेले विगतमा जितेका केही वडा गुमाएपनि सम्रगमा जिल्लामा आफ्नो बलियो उपस्थिती देखाएको छ । नेकपा विभाजनसँगै अलग भएको माओवादी र माधव नेपाल पक्ष बाहिरिएपछि कमजोर हुने आकलन गरिएको एमालेका नेताले यसपटक लक्ष्य अनुसारको सफलता मिलेको बताउँछन् ।

पाँचदलिय गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच भागबण्डा नमिल्दा यसपटक नेकपा एमालेलाई फाइदा पुगेको छ ।देशभर नेपाली कांग्रेसले सुविधाजनक सिट सहित पहिलो दल बन्दै गर्दा म्याग्दीमा भने दोस्रोमा खुम्चिएको छ । गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेस बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिकामा पराजित भएको छ भने धवलागिरी गाउँपालिकामा सफलता मिलेको छ ।

जिल्लाको रघुगंगा, मालिका र मंगलामा एकल प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसले रघुगंगा गाउँपालिकामा भने बहुमत वडा सहित प्रमुख र उपप्रमुख जितेको छ। जिल्लाका ६ वटै स्थानीय तहमा नेकपा एमाले प्रमुख, उपप्रमुख ७, नेपाली कांग्रेस २ प्रमुख र १ उपप्रमुख र माओवादी केन्द्रले २ उपप्रमुख जितेको छ । ४५ वडामध्ये नेकपा एमालेले २२ वडा, नेपाली कांग्रेसल १७ र माओवादी केन्द्रले ६ वडामा जित निकालेको छ । अघिल्लो स्थानीय तहमा नेकपा माओवादी केन्द्रको अवस्था कमजोर भएपनि यसपटक सुधारिएको छ।

Leave a Reply